काठमाडौँ । क्रस–होल्डिङ सेयर लगानी भएका लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जर तथा प्राप्तिको लागि नीतिगत दबाब परेको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार लघुवित्त वित्तीय संस्थाहरुको नाउँमा परिपत्र जारी गर्दै यस्तो दबाब दिएको हो ।
परिपत्रअनुसार क्रस–होल्डिङ हुने गरी लगानी गरेको संस्थापक सेयर रहेका लघुुवित्त संस्थाहरुले २०७९ असार मसान्तसम्ममा गाभ्ने, गाभिने वा प्राप्तिमा जानेसम्बन्धी कार्ययोजना पेश गरिसक्नुपर्नेछ ।
राष्ट्र बैंकले परिपत्रमार्फत भनेको छ, ‘अनुमतिप्राप्त वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको एउटा बैंक तथा वित्तीय संस्थाको १० प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेका संस्थाहरुबीच एकआपसमा र वा इजाजतपत्रप्राप्त एकभन्दा बढी वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी तथा वित्तीय संस्थाहरुको ५१ प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेका लघुवित्त वित्तीय संस्थाहरुले एक आपसमा गाभ्ने, गाभिने वा प्राप्तिमा जान २०७९ असार मसान्तभित्र बैंकसमक्ष कार्ययोजना पेश गर्नुपर्नेछ ।
नौ अर्ब १० करोडको ट्रेजरी बिक्री
नेपाल राष्ट्र बैंकले सोमबार पुनः ९१ दिने अवधिको नौ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको छ ।
राष्ट्र बैंकका अनुसार सो दिन अपराह्न २ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गरिएको हो । यसअघि यही पुस १२ गते पनि राष्ट्र बैंकले २१ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
राष्ट्र बैंकका अनुसार जारी मिति पुस २० गते अर्थात् आज मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिएका थिए । पुरानो नवीकरणअन्तर्गत रहेर बिक्री भएको यो ट्रेजरीको परिपक्व हुने अवधि भने २०७८ चैत २२ गते तोकिएको छ ।
यसअघि गत साता अर्थात् यही पुुस १२ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको नौ अर्ब १० करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल गरेको थियो ।