ढाका । कोरोना भाइरस संक्रमण बढेसँगै बंगलादेशमा थप सतर्कता अपनाउन थालिएको छ । बंगलादेशमा संक्रमण बढेपनि लकडाउन भने नगरिने अधिकारीहरुले जनाएका छन् ।
यहाँका स्वास्थ्य अधिकारीहरुले यहाँ गएको तीन महिनायताकै सबैभन्दा धेरै संक्रमित देखिएका बताएका छन् ।पछिल्लो समय बंगलादेशमा बढेको डेल्टा भेरियन्टका कारण कोरोना संक्रमितको संख्यामा वृद्धि भएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बंगलादेशका संक्रामक रोग विशेषज्ञहरुले यदि मानिसहरुले जनस्वस्थ्यका नियमको पालना गरेनन् भने यहाँ थप संकट बढ्न सक्ने बताएका छन् ।
पछिल्लो हप्तामा यहाँ यो भाइरस निकै तीव्र गतिमा फैलिरहेको बताएका छन् ।
उनीहरुका अनुसार यहाँ आइतबार मात्र पाँच सय ५७ जनामा यो संक्रमण बढेको बताइएको छ । यो वृद्धिदर २.९७ हो । आइतबारको मात्र संक्रमित दर यतिधेरै देखिएको र यो गएको तीन महिनायताकै सबैभन्दा धेरै भएको पनि उनीहरुले बताएका छन् ।
हालसम्म बंगलादेशमा १५ लाख ८६ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै यहाँ २८ हजारभन्दा बढी मानिसको यो सङक्रमणबाट मृत्यु भएको बताइएको छ ।
यहाँ पछिल्लो समयमा एक घातक भाइरसका रुपमा देखिएको ओमिक्रोन भेरियन्टका बारेमा भने केही बताइएको छैन । रासस