काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत लिपानिबिर्ता स्वास्थ्य चौकी परवानीपुर, हेटौँडा अस्पताल हेटौँडा, बेतिनी सामुदायिक स्वास्थ्य चौकी फापरबारी, चन्द्रनिगाहपुर अस्पताल चन्द्रनिगाहपुर र इनरुवा अस्पताल सुनसरी गरी पाँच ठाउँमा राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको हो बैंकले यी विभिन्न अस्पतालहरूलाई नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो ।
अस्पतालहरूमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका विभिन्न पदाधिकारीहरूबाट लिपानिबिर्ता स्वास्थ्य चौकी, हेटौँडा अस्पताल, बेतिनी स्वास्थ्य चौकी, चन्द्रनिगाहपुर अस्पताल र इनरुवा अस्पतालका पदाधिकारीहरूलगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरूको उपस्थितिका बीच सो बेबी वार्मर औपचारिकरूपमा हस्तान्तरण गरिएको हो ।
साथै सोही कार्यक्रमका बीच अस्पतालका डाक्टर, नर्सलगायत विभिन्न सम्बन्धित कर्मचारीहरूलाई बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिम पनि प्रदान गराइएको थियो । नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरूपमा रहेका सम्भावनाहरूको पहिचान गरी त्यस्ता सम्भावनाहरूलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवद्र्धन कोषमार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरूसँग प्रत्यक्ष रूपमा जोडिएर सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यहरू गर्दै आएको छ ।
बैंकले १३औँ वार्षिकोत्सवको अवसरमा डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १२ वटा बेवी वार्मर अर्थात् (न्यानो नानी) बनाई देशका विभिन्न ग्रामीण तथा पहुँच नपुगेका अस्पतालहरूलाई हस्तान्तरण गर्ने सहकार्यका लागि सो केन्द्रको ‘न्यानो नानी’ परियोजना २ को लागि सहयोग प्रदान गरेको थियो ।
बैंकले यसअघि पनि राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा कपिलवस्तु सामुदायिक अस्पताल (कपिलवस्तु, मध्यबिन्दु जिल्ला अस्पताल नवलपुर, महाकाली अञ्चल अस्पताल कञ्चनपुर, प्युठान जिल्ला अस्पताल प्युठान, प्राथमिक स्वास्थ्य केन्द्र महोत्तरी, आम्दा अस्पताल झापा, जिल्ला अस्पताल खोटाङ, सामरी स्वास्थ्य चौकी नुवाकोट, बेनी अस्पताल म्याग्दी र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र बाग्लुङलाई एक एक थान बेबी वार्मर गरी १० वटा बेबी वार्मर प्रदान गरेको थियो ।
बैंकले हाल एक सय पाँचवटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।