काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र नेपाल क्लियरिङ हाउसबीच सम्झौता भएको छ ।
कम्पनीले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी सम्झौता गरेको हो । सम्झौतापत्रमा जनरलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृतराम चन्द्र श्रेष्ठ र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात् जनरल इन्स्योरेन्स एनसीएचएलको नेसनल पेमेन्ट स्वीच (एनपीएस) अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई)सँग जोडिने निर्जीवन बीमा कम्पनी बनेको छ, भने यसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल आईपिएस र कनेक्ट आईपीएस प्रणालीसँग जोडी बीमा दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भे पेमेन्ट, तलब, भेण्डर भुक्तानीलगायत आफ्नो लगानीसम्बन्धी कारोबारहरू आबद्ध भएका बैंक खाताहरूबाट सोझै गर्न सक्नेछ ।
यसले जनरल इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरूबाट भुक्तानी कारोबारहरू सहजै आफ्नो अपरेटिङ खातामा सार्न पनि मदत पु-याउनेछ । यी सबै कारोबारहरू सोझै बीमा कम्पनी तथा लाभग्राहीहरूका बैंक खाताहरूबाट हुनेछन् ।
यसरी एनपीआईमा जोडिएपछि जनरल इन्स्योरेन्सका सम्पूर्ण भुक्तानीहरू पूर्ण स्वचालित रूपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुनेछ । एनपीआईसँग गरिने उक्त इन्टिग्रेसनमा जनरल इन्स्योरेन्सको प्राविधिक पार्टनर अर्हान्त सोलुसन्स प्रालिको पनि महत्वपूर्ण भूमिका रहेको छ जसले जनरल इन्स्योरेन्सलगायत १८ भन्दा बढी निर्जीवन बीमा कम्पनीलाई कोर प्रणाली प्रदान गर्दै आएको छ ।
जनरल इन्स्योरेन्सलगायत ३० भन्दा बढी जीवन तथा निर्जीवन बीमा कम्पनीका बीमितहरूले आफ्नो बीमा प्रिमियम शुल्क अनलाइनमार्फत कनेक्ट आईपीएसबाट भुक्तानी गर्दै आएका छन् । साथै आठवटा जीवन तथा निर्जीवन बीमा कम्पनीहरू यसअघि नै एनपीआईमा आबद्ध रहेका छन् ।
एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रूपमा विकास गरिएको एनपीआई सञ्चालनमा रहेको छ जसमा हाल ६० सदस्य बैंक वित्तिय संस्थाहरू आबद्ध रहेका छन् भने अन्य पीएसपी, पीएसओ, रेमिट्यान्स कम्पनीहरू, मर्चेन्ट बैंक, सरकारी तथा अर्धसरकारी संस्थाहरूलगायतका ६९ गैरबैंकिङ संस्थाहरू इन्डाइरेक्ट, प्राविधिक सदस्यका रूपमा आबद्ध रहेका छन् ।
कम्पनीले सन् ६ असार २०७५ देखि आफ्नो सेवा प्रदान गर्दै आएको छ । बैंकिङ, बीमा, व्यापार, उत्पादन, पर्यटनजस्ता विविध क्षेत्रहरूको प्रतिनिधित्व गर्ने व्यक्तिहरूद्वारा प्रवद्र्धित कम्पनी सधैँ आफ्ना ग्राहकहरूलाई प्रभावकारी सेवा प्रदान गर्न केन्द्रित छ । एनसीएचएलसँगको यो साझेदारीले विभिन्न डिजिटल च्यानलहरूमार्फत प्रदान गरिने बीमा उत्पादनहरूमा आफ्नो उपस्थिति विस्तार गर्न मदत गर्ने विश्वास छ ।