काठमाडौँ । बैंक तथा फाइनान्स कम्पनीहरुले रियलस्टेट अर्थात् घरजग्गा क्षेत्रमा मात्र दुई खर्ब रुपैयाँभन्दा बढी रकम कर्जा प्रवाह गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बैंक तथा फाइनान्स कम्पनीहरुको सम्पूर्ण वित्तीय अवस्थासम्बन्धी विस्तृत प्रतिवेदनअनुसार रियलस्टेट क्षेत्रमा मात्र बैंकिङ प्रणालीमार्फत दुई खर्ब तीन अर्ब ८६ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह भएको देखिएको हो । ‘यो कर्जा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीहरु समेत गरी ६१ वटा संस्थाहरुले चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा प्रवाह गरेका हुन्’, प्रतिवेदनमा भनिएको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुले कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः ४८ खर्ब ४२ अर्ब ७० लाख र ४५ खर्ब ५५ अर्ब २४ करोड ९० लाख रुपैयाँ रहेको थियो । चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा वाणिज्य बैंकहरुले मात्र रियलस्टेट क्षेत्रमा प्रवाह गरेको कुल कर्जा रकम भने एक खर्ब ७४ अर्ब ८५ करोड १० लाख रुपैयाँ रहेको थियो । राष्ट्र बैंकका अनुसार यस अवधिमा वाणिज्य बैंकहरुले ४२ खर्ब ३५ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी ४० खर्ब ४० अर्ब २३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । यसैगरी विकास बैंकहरुले भने चालू आवको कात्तिक मसान्तसम्ममा रियलस्टेट क्षेत्रमा मात्र २१ अर्ब २३ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सो अवधिमा विकास बैंकहरुको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः चार खर्ब ७६ अर्ब १५ करोड ५० लाख र चार खर्ब २८ अर्ब ३४ करोड ३० लाख रुपैयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो अवधिमा फाइनान्स कम्पनीहरुले मात्र भने रियलस्टेट क्षेत्रमा कुल सात अर्ब ७८ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा फाइनान्स कम्पनीहरुको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः ९२ अर्ब ८३ करोड १० लाख र ८१ अर्ब ८७ करोड ७९ लाख रुपैयाँ रहेको थियो । राष्ट्र बैंकले एक करोड ५० लाख रुपैयाँसम्मको कर्जालाई भने रियलस्टेट कर्जामा गणना नगरी छुट्टै होम लोन अर्थात् व्यक्तिगत आवास शीर्षकको कर्जामा गणना गर्ने गरेको छ । यस शीर्षकमा भने बैंक तथा फाइनान्स कम्पनीहरुले चालू आवको कात्तिक मसान्तसम्ममा कुल तीन खर्ब १२ अर्ब दुई करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । उक्त कर्जामध्येमा वाणिज्य बैंकहरुले मात्र प्रवाह गरेको कर्जा रकम दुई खर्ब ५७ अर्ब ८१ करोड ८० लाख रुपैयाँ रहेको छ भने विकास बैंकहरुले प्रवाह गरेको कर्जा रकम ४४ अर्ब ९८ करोड ४० लाख रुपैयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा फाइनान्स कम्पनीहरुले मात्र प्रवाह गरेको होम लोन भने नौ अर्ब २२ करोड ६० लाख रुपैयाँ छ ।