लण्डन । गत वर्ष विद्युतीय कारहरुको बिक्री ह्वात्तै बढढे पनि कोरोना महामारीबाट उठ्न भने अझै नसकेको देखिएको छ ।
सोसाइटी अफ मोटर म्यानुफ्याक्चरर्स एन्ड ट्रेडर्स (एसएमएमटी)का अनुसार सन् २०२१ मा धेरै विद्युतीय कार दर्ता गरिएका थिए । जुन पछिल्लो पाँच वर्षको सबै जोड्दा पनि धेरै हो ।
अझै पनि चार्जिङको पूर्वाधार भने अभाव नै रहेको छ । त्यो त छँदै छ अहिले कम्प्युटर चिप्सको अभावले पनि सताएको छ । एसएमएमटीका अनुसार २०२१ मा १६ लाख ५० हजार नयाँ विद्युतीय कार रजिष्टर्ड गरिएको थियो । २०२० को तुलनामा त्यो थोरै वृद्धि हो । त्यतिबेला लकडाउनदेखि डिलर बन्दसम्मको अवस्था थियो । त्यही कारण बिक्रीमा कमी आएको थियो । यद्यपि यो बिक्री पनि महामारीअघिको अवस्थाभन्दा २८ प्रतिशतले कम हो ।
चिप्स अभावले यो क्षेत्रलाई थप संकटमा पारेको छ । एउटा अत्याधुनिक कारले १५ सयदेखि तीन हजारसम्म सेमिकन्डक्टर चिप प्रयोग गर्छ । तर कोरोनाका कारण चिप्स बन्ने देशहरुमा उत्पादन बन्द भएपछि यसको संकट गहिरिएको थियो । चिप्स दक्षिणपूर्वी एसियामा बन्छन् । यी देशहरुमा सुरुदेखि नै कोरोना संक्रमण तीव्र फैलिएको थियो ।