काठमाडौँ । एनएआईसी एसिया बैंकको कर्मचारी लुटपाटको घटनामा कर्मचारीकै संलग्नता देखिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार डाँका चोरीमा संलग्न चार जनालाई पक्राउ गरेपश्चात् उक्त घटनामा एनआईसी एसिया बैंककै कर्मचारीहरुको संलग्नता पुष्टि भएको हो ।
प्रवक्ता मैनालीका अनुसार यही पुस १८ गते अन्दाजी १६ बजे समयमा काठमाडौं महानगरपालिका वडा नम्बर ३१ अन्तर्गत बानेश्वरको युनिग्लोब कलेज अगाडि एनआईसी एसिया बैंकको बानेश्वर शाखामा नगद कलेक्टर पदमा कार्यरत कर्मचारी काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ७ काँडाघारी बस्ने २७ वर्षीय प्रदिप खत्रीले काठमाडौं महानगरपालिका वडा नम्बर १० को वडा कार्यालयबाट १२ लाख ४५ हजार रुपैयाँ लिए ।
त्यसपछि उनले शान्तिनगरमा रहेको मेट लाइफ इन्स्योरेन्स कम्पनीबाट तीन लाख ८५ हजार चार सय २४ रुपैयाँ लिए । यो सबै गरी कुल १६ लाख ३० हजार चार सय २४ रुपैैयाँ बैंक दाखिला गर्न जाने क्रममा लुटपाट भएको सूचना एनआईसी एसिया बैंक बानेश्वर शाखामा कार्यरत सुरक्षा अधिकृतबाट महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा आयो ।
प्रवक्ता मैनालीका अनुसार अन्दाजी १७ः३० बजे उक्त जानकारी प्राप्त भएपश्चात् नयाँ बानेश्वगर वृत्त र अपराध महाशाखाको संयुक्त प्रहरी टोलीबाट अनुसन्धान कार्य अगाडि बढाइएकोमा बैंकको नगद कलेक्टर पदमा कार्यरत प्रदिप खत्रीउपर शंका लागी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानका विधिहरु प्रयोग गरी अनुसन्धान गर्दै जाँदा उक्त घटनाका मुख्य योजनाकार प्रदिप खत्री स्वयं, सिन्धुपाल्चोकको साँगाचोक घर भई ललितपुरको धापाखेल बस्ने २४ वर्षीय विमल तामाङ, रामेछापको देउराली घर भई हाल ललितपुरको ढोलाहिटी बस्ने २४ वर्षीय शक्तिराज पौडेल र रामेछापको देउराली घर भई भक्तपुरको दधिकोट बस्ने २७ वर्षीय अनिश खड्का पक्राउ परेका हुन् ।
अनुसन्धानको क्रममा उक्त रकम लुटपाट गरी भाग लगाएको र सोमध्ये शक्ति पौडेलको भागमा छ लाख ३० हजार चार सय २४ रुपैयाँ, विमल तामाङको भागमा तीन लाख रुपैयाँ, प्रदिप खत्रीको भागमा तीन लाख रुपैयाँ र अनिश खड्काको भागमा चार लाख रुपैयाँ भाग लगाएको खुलेको प्रवक्ता मैनालीले जानकारी दिएका छन् ।
लुटिएको कुल रकममध्ये १३ लाख ४६ हजार रुपैयाँ चार जनाको साथबाट बरामद भएको र बाँकी दुई दाख ८४ हजार चार सय २४ रुपैयाँ भने चार जनाले मिलेर खर्च गरेको जानकारी पनि प्रवक्ता मैनालीले दिएका छन् । ती व्यक्तिहरुबाट डाँका र चोरी गरी लगेको उक्त नगद रकम र सो कार्यमा प्रयोग गरिएको सवारीसाधन समेत रीतपूर्वक बरामद गरी महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरबाट थप अनुसन्धान भई रहेको प्रवक्ता मैनालीको भनाइ छ ।