काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र आयातमुखी हुनुको प्रमुख कारण ‘श्रम निर्यात’ रहेको बताएका छन् । नेपालबाट ठूलो श्रमशक्ति विदेश गइरहेको र त्यसले नेपालको उत्पादनमा असर गरेको उनको भनाइ छ । विदेशिने श्रमशक्तिलाई रोक्न उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा उनको जोड छ । उत्पादनमूलक क्षेत्रमा लगानी गरेर रोजगारी सृष्टि गर्नु नै समस्याको समाधान रहेको उनले जिकिर गरे ।
‘हामीले वस्तु निर्यात गर्नुपर्ने ठाउँमा श्रम निर्यात गरेका छौँ । यही नै मुख्य समस्या हो । सङ्कटको कारण यही हो’, उनले भने, ‘यसलाई समाधान गर्न उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु र हाम्रो व्यवसायलाई वृद्धि गर्नु अनि रोजगारी सृष्टि गर्नुको अर्को विकल्प छैन ।’ विभिन्न वस्तुहरूको पहिचान गरी कतिपय वस्तु आत्मनिर्भर र केही वस्तु निर्यातका लागि उत्पादन गर्नुपर्ने उनको भनाइ छ । त्यसका लागि सरकार र निजी क्षेत्रले हातेमालो गरेर अगाडि बढ्नुपर्ने उनले बताए ।
उनले नीतिगत, संरचनागत, व्यावहारिक र व्यावसायिक क्षेत्रमा हातेमालो गर्नुपर्नेमा जोड दिए । नेपाल निर्यात परिषद् (इकोन) को २४औं साधारणसभा तथा छैठौँ निर्यात दिवसको अवसरमा गत बिहीबार आयोजित कार्यक्रममा उनले इकोनले निर्यातको सानो ‘डोरेटो’ निर्माण गरेको उल्लेख गरे । ‘इकोनले निर्यातको डोरेटो बनाएको छ ।
यसलाई हाइवेमा नबदलेसम्म हाम्रो व्यापार घाटा अन्त्य हुन सक्दैन’, उनले भने, ‘डोरेटो तयार भएकाले अब हामी हाइवेमा बदल्न नयाँ ढङ्गले सोचौँ ।’ उनले नीतिगत र संरचनागत सुधारका लागि सकार सधैँ प्रतिबद्ध रहेको पनि स्पष्ट पारे । त्यस्तै विगतमा बनाइएका आर्थिक नीति तथा सन्धि सम्झौताहरूको समीक्षा गर्ने समय पनि आएको बताए ।