कोरिया । प्रविधि कम्पनी सामसङ इलेक्ट्रोनिक्सले पछिल्ला तीन महिनामा आफ्नो नाफा ५२ प्रतिशतले वृद्धि हुनसक्ने जनाएको छ । विश्वमा चिप्स अभावले सताइरहेका बेला कम्पनीले सन् २०२१ को पछिल्ला तीन महिनामा नाफा ह्वात्तै बढ्ने अनुमान गरेको हो ।
संसारकै ठूलो चिप उत्पादक कम्पनीले यो अवधिमा ११ अर्ब ५० करोड अमेरिकी डलर आम्दानी गरेको जनाएको छ । चार वर्षमा चौथो त्रैमासिक हालसम्मकै उच्च मुनाफा हुनसक्ने कम्पनीको भनाइ छ । सर्भर मेमोरी चिप्सको उच्च मागले आयवृद्धि भएको देखिएको छ । नाफामा उच्च अन्तरलाई पनि यहीसँग तुलना गरिएको छ । प्रविधि विश्लेषक साम रेनल्ड्सले बीबीसीसँग भनेका छन्, ‘सामसङले पीसी र इलोक्ट्रोनिक्सको उच्च मागपछि यो नाफा गर्न सक्षम देखिन्छ ।’
उनले मुद्रा उतारचढावबाट सामसङलाई फाइदा पुगेको बताए । अहिले कोरियन वन अवमूल्यन भइरहेको छ भने यसबाट कोरियाको निर्यात विश्वबजारमा आकर्षक बनेको छ । यद्यपि अनुमानित नाफा धेरै विश्लेषकले गरेको एक सय ५२ खर्ब वनको तुलनामा कम हो ।
उक्त अनुमान नभेट्नुमा भने कर्मचारीलाई दिएको बोनस र स्मार्टफोनको लागि कम्पनीले गरेको मार्केटिङमा भएको खर्चलाई मुख्य कारण मानिएको छ ।
बितेका महिनामा विश्वबजारमा भएको सेमिकन्डक्टर चिप्सको अवभाववले उत्पादकलाई असर गरेको छ । यसबाट कार उत्पादकदेखि अन्य कम्पनीहरुसमेतलाई प्रभाव परेको छ ।