काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले विद्यमान तरलताको अभाव एक महिनाभित्र समाधान हुने बताएका छन् । पछिल्लो समय देखिएको तरलताको चाप माघभित्र समाधान हुने उनको भनाइ छ । ‘अर्थतन्त्रमा केही चाप परेको पक्कै हो, तर बाहिर प्रचार गरिएजसो संकट आइसकेको छैन’, उनले भने, ‘सचेत हुने अवस्थामा चाहिँ छ । तरलताको जुन अभाव देखिएको छ, यो माघभित्र समाधान हुने गरी कार्य अघि बढाइएको छ ।’
बैंक तथा वित्तीय परिसंघ नेपाल (सीबीफिन)को सोमबार राजधानीमा दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले कोभिड १९ का कारण दुई वर्षसम्म व्यवसाय गर्न नपाएका व्यवसायीले वित्तीय संस्थाहरूबाट एकै पटक ठूलो परिमाणमा ऋण प्रवाह हुँदा यस्तो चाप परेको बताए । यस्तै उनले संकटका बेला पनि बढी नाफामुखी हुने प्रवृत्ति त्याग्न बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गरे ।
बैंक तथा वित्तीय संस्थाहरूले गरेको मागबमोजिम ३० प्रतिशत करबाट केही घटाउन सकिने उल्लेख गर्दै उनले बैंकहरूले पनि संकटका बेला बढी नाफामुखी हुन नहुने बताए । ‘संकट परेको बेला पनि बढी नाफा लिनुपर्छ भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ कि पर्दैन ?’, उनले प्रश्न गरे ‘संकटका बेला उद्योगधन्दालाई पनि बचाउनुपर्छ, जनतालाई पनि बचाउनुपर्छ र बैंकलाई पनि बचाउनुपर्छ भन्ने सबैको भावना हुनुप-यो । यो भावना देखिएको छैन । संकटका बेला मिलेर एकले अर्कालाई बचाउने हो ।’
कार्यक्रममा उनले मुलुकको ग्रार्हस्थ्य उत्पादनमा बैंक तथा वित्तीय क्षेत्रको ठूलो योगदान रहेको चर्चा गर्दै संकटका बेला सरकार, निजी क्षेत्रलगायतले एकले अर्कालाई सहयोग गर्नुपर्नेमा जोड दिए । ‘मुख्य समस्या संकटका बेला पनि बढी नाफा लिनुपर्छ भन्ने प्रवृत्ति हो’, उनले भने, ‘यो प्रवृतिगत समस्यालाई समाधान गर्नको लागि एक–अर्काका समस्या बुझेर सहयोग गर्नुपर्छ ।’
त्यस्तै मन्त्री शर्माले दक्षिण कोरियालगायतका मुलुकमा शाखा खोल्न बैंकहरूलाई आग्रह गरे । कोरिया, जापान, इजरायललगायतका मुलुकबाट अनौपचारिक माध्यमबाट रेमिट्यान्स आउने गरेको सूचना प्राप्त भएको भन्दै उनले ती मुलुकमा शाखा खोल्न आग्रह गरेका हुन् । त्यसले रेमिट्यान्स औपचारिक माध्यमबाट भित्र्याउन सहयोग पुग्ने उनको भनाइ थियो ।
मन्त्री शर्माले व्यवसाय पनि विशिष्टिकृत गर्नुपर्ने आवश्यकता औँल्याए । बैंकिङ क्षेत्र तथा उद्योग क्षेत्र पनि एकै व्यक्तिले सञ्चालन गर्दा गोलमटोल भएको भन्दै उनले विशिष्टीकरण गर्नुपर्नेमा जोड दिए । ‘आफूले आफैँलाई ऋण दिने/लिने देखिएको छ’, उनले भने, ‘यसले गर्दा ब्याजलगायतका तथ्याङ्क सही रूपमा आएनन् ।’ यस्तै उनले बैंकले व्यवसायीलाई ऋण उपलब्ध गराएपछि निश्चित समयसम्म ब्याज नबढाउन समेत आग्रह गरे ।
ऋण लिएर व्यवसाय थालनी गरेको केही समयमै बैंकहरूले ब्याज बढाउने गरेको गुनासो मन्त्रालयमा आउने गरेको भन्दै उनले त्यसो नगर्न आग्रह गरेका हुन् । ऋण लिनेबित्तिकै ब्याज बढाइदिँदा व्यवसाय असफल हुने उनको भनाइ छ ।