कोलम्बो । आर्थिक संकटले ग्रस्त श्रीलंकाले चीनसँगको ऋण पुनर्संरचना गर्न माग गरेको छ । श्रीलंकाली राष्ट्रपति गोताबाय राजापाक्षेले चिनियाँँ विदेशमन्त्री वाङ यीसँगको भेटवार्ताका क्रममा चीनसँग उक्त आग्रह गरेको बीबीसीले जनाएको छ ।
पछिल्लो दशकमा चीनले श्रीलंकालाई पाँच अर्ब अमेरिकी डलरभन्दा धेरै ऋण सडक, विमानस्थल र बन्दरगाहजस्ता परियोजनाका लागि दिएको थियो । तर आलोचकहरुले त्यो रकम अनावश्यक स्किमका लागि प्रयोग भएको बताउने गरेका छन् । राजापाक्षेको कार्याालयले एक वक्तव्यमा राष्ट्रपतिले ऋण भुक्तानीको पुनर्संरचना गरिए आर्थिक संकटको बेला समाधानस्वरुप देशका लागि ठूलो राहत हुने बताएका छन् ।
श्रीलंकाले चीनलाई उसको निर्यातमा समय नतोकी उपलब्ध गराउन पनि माग गरेको छ । गत वर्ष साढे तीन अर्बको यस्तो निर्यात भएको थियो । राजापाक्षेले चिनियाँ पर्यटकलाई श्रीलंका घुम्न आउन दिन पनि आग्रह गरेका छन् ।
महामारीअघि चीन श्रीलंकाको मुख्य पर्यटक स्रोत समेत थियो । यतिमात्र नभई श्रीलंकाले विश्वका अन्य देशबाट भन्दा धेरै आयात समेत चीनबाटै गर्दै आएको थियो । पछिल्ला केही महिनायता श्रीलंका ऋणसंकटमा फसिरहेको छ । विदेशी मुद्रा सञ्चितिको अभावले ग्रस्त छ ।
चीन श्रीलंकाको ठूलो ऋणदातृराष्ट्र समेत रहेको छ । श्रीलंकाले चीनलाई साढे चार अर्ब अमेरिकी डलर ऋण भुक्तानी गर्नुपर्ने अवस्था छ ।