काठमाडौँ । सरकारले कोभिड १९ को सम्भावित तेस्रो लहरबाट जोगिन भन्दै उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन नपाउने व्यवस्था गरेको छ । २५ जनाभन्दा बढी मानिसको उपस्थिति हुने गरी कुनै पनि किसिमको मेला, भेला तथा महोत्सवहरु एवं सामाजिकलगायतका कार्यहरु नगर्न, नगराउन काठमाडौं, भक्तपुर र ललितपुरका तीनवटै प्रशासन कार्यालयहरुले आग्रह गरेका छन् ।
कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गरी यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस एवं गृह मन्त्रालयको निर्णय, संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी यस जिल्लामा मंगलबार राति १२ बजेदेखि अर्को सूचना नभएसम्म भेला हुन नपाउने, खोपको अनिवार्य, भौतिक दूरी कायम गर्नुपर्नेलगायतका आदेश जारी गरेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले तीनवटै प्रशासनका प्रमुखहरुको बैठक उक्त निर्णय गरेको बताए । उनले कोभिडको तेस्रो लहरबाट जोगिन यो एक प्रकारको लकडाउन भएको बताए ।
कोभिड १९ को बढ्दो संक्रमणलाई दृष्टिगत गरी घरबाहिर वा सार्वजनिक स्थलमा निस्किँदा सबैले मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, समय–समयमा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नेलगायतका स्वास्थ्यसम्बन्धी मापदण्डको अनिवार्य पालना गर्ने, गराउने, राजनीतिक, आर्थिक, सामाजिक, व्यावसायिक तथा अन्य गतिविधिहरु सञ्चालन गर्दा मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, पटक–पटक साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने र नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गरेर मात्र गर्ने, गराउने प्रशासनले आदेश जारी गरेको छ ।
बैठकले सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै मानिस उपस्थित हुने गरी प्रशासनिक तथा सामाजिक एवं यस्ता प्रकृतिका कार्यक्रम नगर्ने, नगराउने, अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर मात्र स्वास्थ्य मापदण्डको पालना गरी, गराई गर्ने व्यवस्था मिलाउने, सार्वजनिक स्थानहरु (कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाइ यात्रा, पार्क आदि) मा प्रवेश गर्दा यही माघ ७ गतेदेखि कोभिड विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राख्ने र यस्ता सबै निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था गर्ने र माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड (मोबाइलमा फोटो भए पनि हुने) अनिवार्य गर्ने निर्णय गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरी सार्वजनिक स्थानहरुमा निःशुल्क एन्टिजेन टेस्ट बुथहरु स्थापना गर्ने र नियमित परिक्षण गर्ने, गराउने, जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँगको समन्वयमा सबै विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यर्थाीहरुलाई अनिवार्य रुपमा एक साताभित्र कोभिडविरुद्धको खोप लगाइसक्ने गरी कार्यतालिका बनाई कार्यान्वयन गर्ने, गराउने, कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सूचनाबमोजिम मंगलबारदेखि माघ १५ गतेसम्म भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन नगर्ने, नगराउने र पूर्वनिर्धारित सेमेष्टर र वार्षिक परीक्षाहरुको हकमा स्वास्थ्य मापदण्ड पालना हुने गरी जेड आकारमा बसाइ व्यवस्था गरी सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।
कोभिडको तेस्रो लहरबाट सुरक्षित रहनको लागि सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीको बढी चाप हुने कार्यालयहरु (जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, यातायात व्यवस्था कार्यालय, आन्तरिक राजस्व कार्यालय, बैंक तथा वित्तीय संस्था आदि) मा भीडभाड नहुने उपयुक्त तरिका सम्बन्धित कार्यालय प्रमुखले अवलम्बन गरी, गराई स्वास्थ्य मापदण्डको पालना हुने गरी सेवा प्रवाहको प्रबन्ध मिलाउने, जिल्लाभित्रका सरकारी, निजी स्वास्थ्य संस्था र स्थानीय तहले विगतमा सञ्चालन गरेका कोभिड उपचार केन्द्र तथा आइसोलेसन केन्द्रलाई सुदृढ गरी सञ्चालनमा ल्याउन दुरुस्त अवस्थामा राख्ने र अक्सिजनको आपूर्ति सहज बनाउन कोभिडको दोस्रो लहरको समयमा प्रयोगमा आएका अक्सिजन सिलिण्डरहरु यथाशीघ्र सम्बन्धित अस्पताल, उद्योग वा स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय समेत गरेको छ ।
सार्वजनिक सवारीसाधनको हकमा भने सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने निर्णय गरिएको छ । सार्वजनिक सवारीसाधनहरु स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउने, सवारीसाधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने, मास्क नलगाउने यात्रुलाई सवारीसाधनमा प्रवेश गर्न नदिने, चालक र सहचालकले अनिवार्य मास्क र भाइजर र पन्जा लगाउने र अनिवार्य रुपमा सवारीसाधन दैनिक स्यानिटाइज गर्नुपर्ने, औषधिलगायत अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सृजना गर्ने, मूल्यवृद्धि गर्ने, लुकाउन, सहज आपूर्तिमा अवरोध गर्नेउपर कानुनबमोजिम कारबाही गरिने, कोभिडको लक्षण देखिएका तथा संक्रमितको सम्पर्कमा परेका व्यक्तिहरुले नेपाल सरकाले निःशुल्क व्यवस्था गरेको एन्टिजेन तथा पीसीआर परीक्षणका लागि सम्बन्धित स्थानीय तह, जिल्ला अस्पतालसँग सम्पर्क गरी परीक्षण गराउन, भीडभाडबाट बच्न तथा बचाउन सतर्क रही स्वास्थ्य मापदण्डको प्रभावकारी पालना गर्ने, गराउने निर्णय प्रशासनले गरेको हो ।
यस्तै बैठकले औद्योगिक तथा व्यावसायिक संस्था, फर्म तथा पसलहरुले स्वास्थ्य मापदण्ड पालना गरी, गराई औद्योगिक तथा व्यावसायिक गतिविधि सञ्चालन गर्ने, कोभिड १९ को सम्भावित तेस्रो लहरबाट जोगिन उपयुक्त स्वास्थ्य सतर्कता अपनाउने र जनस्वास्थ्य मापदण्डको कडाइका साथ पालन गर्ने, गराउने सम्बन्धित सूचना प्रकाशन तथा प्रसारणका लागि जिल्लास्थित सबै स्थानीय तह, सञ्चारमाध्यमहरुलाई विशेष अनुरोध समेत गरिएको छ ।
कोभिडसम्बन्धी आदेशको प्रभावकारी पालना सम्बन्धमा सुरक्षा निकायबाट नियमित तथा आकस्मिक अनुगमन गरिनेछ । अनुगमनका क्रममा यस आदेशको अवज्ञा भएको पाइएमा संक्रमक रोग ऐन, २०२० अनुसार कारबाही गरिने बताइएको छ ।