काठमाडौँ । राष्ट्र निर्माता पृथ्वी नारायण शाहको सम्मानमा विगतका वर्षहरुमा झैँ यसवर्ष पनि नेपाली सेनाले ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७८’ विविध कार्यक्रमहरुको आयोजना गरी भव्यरुपमा मनाएको छ । सेनाले पुस २० गतेदेखि नै देशका विभिन्न स्थानहरुमा विविध कार्यक्रमहरु सञ्चालन गरेको थियो ।
सेनाले सञ्चालन गरेको कार्यक्रमहरुमध्ये गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा उल्लेखनीय रहेको बताइएको छ । पुस २१ गतेबाट गोरखाबाट सुरु भएको पदयात्रा मंगलबार हनुमान ढोकामा आइपुगेर समापन भएको थियो । हिमाली, पहाडी, तराई तथा काठमाडौँका नेवार समुदायलगायतका सबै क्षेत्र र समुदायको प्रतिनिधित्व हुनेगरी राष्ट्रिय एकता झल्कने बाजागाजा, झाँकी, लाखेनाचसहितको सांस्कृतिक प्रस्तुतिका साथ जङ्गी अड्डामा पदयात्राको समापन गरिएको सेनाले जनाएको छ ।
उक्त पदयात्राको दौरान पृथ्वीनारायण शाहको फोटो बग्गीमा राखी नगर परिक्रमा समेत गरिएको थियो । यसका साथै देशका विभिन्न स्थानहरुमा नेपाली सेनाका युनिटहरुले पदयात्रा सञ्चालन गरेका थिए । यसका साथै सेनाले मंगलबार राष्ट्रव्यापी कविता प्रतियोगिताका उत्कृष्ट सात कविता वाचन गर्नुका साथै इतिहासविद प्रा. दिनेशराज पन्तबाट पृथ्वीनारायण शाहको दिव्योपदेशसम्बन्धी प्रवचनको कार्यक्रम गरिएको थियो ।