काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले १४औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । फाइनान्सले बिहीबार आफ्नो केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाद्वारा आर्थिक वर्ष २०७७–०७८ को लागि प्रस्तावित छ प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशको कर समेत) र ४० प्रतिशत बराबरको बोनस सेयर वितरण गर्ने निर्णय पारित भएको छ । फाइनान्सको यसअघिसम्मको चुक्ता पुँजी ९६ करोड ५३ लाख ९४ हजार आठ सय ९१ रुपैैयाँ रहेकोमा बोनस सेयर वितरणपश्चात् चुक्ता पुँजी एक अर्ब ३५ करोड १५ लाख ५२ हजार आठ सय ४७ रुपैयाँ हुने भएको छ । फाइनान्सको पुस मसान्तसम्म ११ अर्ब १५ करोड निक्षेप संकलन तथा ११ अर्ब रुपैयाँ कर्जा लगानी रहेको छ ।
फाइनान्सको केन्द्रीय कार्यालय, नयाँ बानेश्वर काठमाडौँमा रही २२ वटा शाखामार्फत नेपालभरका प्रमुख सहरहरूमा सेवा पु-याउँदै आएको छ । फाइनान्सको न्यूरोड काठमाडौँ, नारायणगढ, बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, वीरगञ्ज, मुर्गिया, योगिकुटी, मनीग्राम, भैरहवा, गैडाकोट, भरतपुर, टाडी, पर्साबजार, इनरुवा, झुम्का तथा विराटचोक शाखाबाट कारोबार गरी रहेको राष्ट्रियस्तरको वित्तीय संस्था हो । फाइनान्सको निकट भविष्यमा सञ्चालनमा आउने शाखा कार्यालय चावहिल, गोगबु तथा कलंकी शाखाहरू रहेको जानकारी पनि फाइनान्सले दिएको छ ।