काठमाडौं । गुडविल फाइनान्सको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । फाइनान्सले बिहिबार होटल क्राउन इम्पेरियल, रविभवन, काठमाडौँमा भर्चुअल माध्यमबाट वार्षिक साधारणसभा सम्पन्न गरेको होे ।
सभामा कम्पनीका अध्यक्ष विश्व प्रकाश साखःले आव २०७७–०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले निक्षेपतर्फ गत आर्थिक वर्षको तुलनामा १८ दशमलव ८४ प्रतिशतले वृद्धि गरी १० अर्ब नौ करोड ३९ लाख ८४ हजार नौ सय ९७ रुपैयाँ तथा कर्जातर्फ १५ दशमलव ६८ प्रतिशतले वृद्धि गरी सात अर्ब ९१ करोड ३३ लाख ८९ हजार छ सय ८० रुपैयाँ पु-याउन सफल भएको जानकारी अध्यक्ष साखःले दिएका छन् । फाइनान्सले वार्षिक साधारणसभामार्फत आव २०७७–०७८ को आयव्यय विवरण तथा उक्त आवको नाफाबाट नौ दशमलव १५ बोनस सेयर तथा तीन दशमलव ९५ नगद लाभांश गरी जम्मा १३ दशमलव पाँच वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ ।
सो अवसरमा सस्थाका प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधरले गत वर्ष विश्वभर महामारीको रूपमा फैलिएको कोभिड १९ का कारण नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दी तथा यसबाट उत्पन्न भएका अन्य विविध समस्याका कारण सम्पूर्ण आर्थिक गतिविधिलगायत नियमित व्यवसायमा समेत उत्पन्न हुनगएको शिथिलताका बाबजुद पनि वित्तीय संस्थाले अपेक्षाजनक रूपमै कार्य गर्दै लगानी कर्ताहरूलाई गत वर्षभन्दा बढी प्रतिफल दिन सकेको सभामा जानकारी गराएका छन् ।