काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०७८/७९ को द्वितीय त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार कम्पनीको खुद नाफामा १८ दशमलव ४९ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीले चालू आर्थिक वर्षको पुस मसान्तसम्मा तीन अर्ब ८९ करोड ७८ लाख ७५ हजार रूपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत आवको सोही अवधिमा तीन अर्ब २८ करोड ९३ लाख ९४ हजार रूपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको खुद नाफा ६० करोड ८४ लाख ८१ हजार रूपैयाँले वृद्धि भएको हो । यस्तै कम्पनीको कुल सञ्चालन आयमा आठ दशमलव ३६ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीले चालू आवको पुस मसान्तसम्ममा १९ अर्ब २० करोड ७२ लाख १६ हजार रूपैयाँ कुल आम्दानी गरेको छ । कम्पनीले गतवर्ष सोही अवधिमा १७ अर्ब ७२ करोड ४९ लाख १३ हजार रूपैयाँ कुल आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीले एक अर्ब ४८ करोड २३ लाख तीन हजार रूपैयाँ कुल आम्दानीमा वृद्धि गरेको हो । यस्तै कम्पनीको गत आवको पुस मसान्तसम्मको कुल आय २० अर्ब ५७ करोड ५९ लाख २५ हजार रूपैयाँ रहेकोमा चालू आवको सोही अवधिमा कुल आय २१ अर्ब ९८ करोड ९१ लाख ८८ हजार रूपैयाँ पुगेको छ ।
यस्तै कम्पनीको द्वितीय त्रैमासिक अवधिमा मात्रै चालू आवमा कुल सञ्चालन आय नौ अर्ब ४३ करोड १९ लाख २३ हजार रूपैयाँ रहेको छ । कम्पनीले गत आवको द्वितीय त्रैमासिक अवधिमा मात्र कुल सञ्चालन आय नौ अर्ब आठ करोड ९५ लाख ७३ हजार रूपैयाँ रहेको थियो । यस्तै गत आवको द्वितीय त्रैमासिक अवधि पुस मसान्तसम्म कम्पनीको ईबीआईटीडीए आठ अर्ब ६१ करोड तीन लाख १७ हजार रहेकोमा चालू आवको सोही अवधिमा नौ अर्ब ३८ करोड ६१ लाख ९० हजार रहेको छ ।
फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँज विस्तार हुँदा समग्र सक्रिय ग्राहक आधार वृद्धि हुन गई मोबाइल डाटा, भ्वाइस, एसएमएस सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि हुन गएकोले गत वर्षको तुलनामा यस वर्ष नाफा तथा आम्दानीमा वृद्धि हुन गएको कम्पनीले जनाएको छ । यसैगरी कम्पनीका अनुसार टुजी/थ्रीजी सेवाको पहुँच नपुगेका स्थानहरूमा समेत उक्ता सेवाको पहुँच विस्तार गरिएको, कम्पनीको एफटीटीएच सेवाप्रति ग्राहकको आकर्षणमा वृद्धि भएको, कोभिडको संकट चालू आवको सुरुबाटै केही सहज भएकोले कम्पनीका आयोजनाहरू तथा सेवा वितरणमा सहजता आउँदा कम्पनीको आम्दानीमा वृद्धि हो ।