दोलखा । जिल्लाका नौ स्थानीय तहका ७४ वटा वडामध्ये ५० वटा वडाले आफ्नै कार्यालय भवन निर्माणसम्पन्न गरेका छन् । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनपछि यहाँका दुई नगरपालिका र सात गाउँपालिकाले ५० वटा वडाको कार्यालय भवन निर्माण सम्पन्न गरेको बताएका छन् ।
सुरुको वर्ष भाडाका भवनमा कार्यालय राखेर सेवा दिन सुरु गरेका ७४ वडामध्ये ५० वटा वडाले हाल आफ्नै भवनबाट सेवा दिन थालेका छन् । जिल्लाका दुईवटा स्थानीय तह जिरी नगरपालिका र बैतेश्वर गाउँपालिकाले सबै वडाको भवन निर्माण सम्पन्न गरिसकेको जनाएको छ । नौवटा वडा रहेको जिरी नगरपालिकाले सबै वडाको वडा कार्यालय भवन निर्माणसम्पन्न गरेको नगरपालिकाकी उपमेयर कृष्णमाया बुढाथोकीले जानकारी दिइन् । जिरी नगरपालिकाले आठवटा वडाको नयाँ भवन निर्माण गरेको छ भने एउटाको स्तरोन्नति गरेको छ । त्यसैगरी बैतेश्वर गाउँपालिकाले पनि आफ्ना सबै वडाको नयाँ भवन निर्माणसम्पन्न गरेको छ । आठवटा वडा रहेको यस पालिकाले गत वर्ष नै सबै वडाको वडा कार्यलय भवन निर्माणसम्पन्न गरेको हो ।
त्यसैगरी तामाकोशी गाउँपालिकाले सातमध्ये पाँचवटा वडा कार्यालय भवन निर्माणसम्पन्न गरेको छ । गाउँपालिकाले अन्य दुई वडाको भवन भने मर्मत र स्तरोन्नति गरेर प्रयोग गरेको छ । त्यस्तै कालिञ्चोक गाउँपालिकाले नौमध्ये छवटा वडाको कार्यालय भवन निर्माणसम्पन्न गरेको छ । गाउँपालिकाले केही वडाको भवन भने जग्गा अभाव र विवादले गर्दा निर्माण गर्न नसकेको जनाएको छ । त्यस्तै मेलुङ गाउँपालिकाले आठ वडामध्ये पाँचवटा वडाको वडा कार्यालय भवन निर्माण गरी सञ्चालनमा ल्याएको छ । पालिकाले चालू वर्षभित्रमा छवटा वडाले आफ्नै भवनबाट सेवा दिने जनाएको छ । यस्तै जिल्लाको शैलुङ गाउँपालिकाले पाँचवटा वडाको वडा कार्यालय भवन निर्माणसम्पन्न गरेको छ । यता भीमेश्वर नगरपालिकाले चारवटा वडाको नयाँ भवन निर्माणसम्पन्न गरेको छ । नगरपालिकाका अन्य वडाले भने यसअघि नै निर्माण भएका भवनमा कार्यालय राखेर सेवा दिँदै आएका छन् ।
त्यसैगरी विगु गाउँपालिकाले भने दुईवटा वडाको मात्र भवन निर्माण गर्न सकेको छ । दुईवटा भवन निर्माण पनि गैरसरकारी संस्थाको सहयोगमा गरिएको हो । गाउँपालिकाले अन्य पाँचवटा वडाको कार्यलय भने पुराना भवनको स्तरोन्नति गरेर प्रयोगमा ल्याएको छ । त्यस्तै गौरीशंकर गाउँपालिकाले सातवटा वडा कार्यालय भवन निर्माणसम्पन्न गरेको जनाएको छ । जिल्लाका नौ स्थानीय तहले वडा कार्यालय भवन निर्माण गर्न ४० लाखदेखि दुई करोडसम्म खर्च गरेका छन् । नगर तथा गाउँपालिकाले ५० वटा वडा कार्यालय भवन निर्माण गर्न करिब ६३ करोड रूपैयाँ खर्च गरेका छन् ।