काठमाडौं । रुस र युक्रेनबीच द्वन्द्व बढ्दै गएसँगै त्यहाँ रहेका नेपालीहरुको सुरक्षा चिन्ता बढेको छ । यसैबीच गैरआवासीय नेपाली संघले आफनो सम्पर्कमा आएका युक्रेनमा रहेका नेपालीहरु सुरक्षित रहेको बताएको छ । उनीहरु सुरक्षित रहे पनि त्रसित बनेका छन् ।
बिहीबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै संघले युक्रेनमा पछिल्लो विकसित घटनाक्रमको कारणले त्यहाँ रहेका नेपालीहरुको सुरक्षाप्रति चिन्तित रहेको जनाएको छ । त्यहाँ ३८ जना नेपालीहरु राष्ट्रिय समन्वय परिषद् युक्रेनको सम्पर्कमा रहेका छन् र उनीहरु युक्रेनमा लामो समयदेखि स्थायी बसोबास गर्दै आएका थिए । उनीहरु सबै सकुशल छन् ।
संघले युक्रेनमा विद्यार्थीहरु पनि रहेको र ट्रान्जिटका लागि समेत नेपालीहरु बसेको बताएको छ । सम्पर्कमा आएकाबाहेक युक्रेनमा ४४ जना विद्यार्थी र दुई सय जनाभन्दा बढी नेपालीहरु ट्रान्जिटमा छन् । त्यहाँ रहेका सबै नेपालीहरुलाई आफ्नो अवस्थाबारे समन्वय परिषद् युक्रेनमा जानकारी गराउन समेत संघले आग्रह गरेको छ । युक्रेनमा रहेका सबै नेपालीहरुलाई आफू सुरक्षित रहन र त्यहाँको घटनाक्रम मूल्यांकन गरी आवश्यक परे मुलुक फर्कन समेत संघले आग्रह गरेको छ ।
यदि त्यहाँ कुनै समस्या भएमा परिषद्का अध्यक्ष हरि मल्ल (+३८०९३४३४७७००) संघको सचिवालय, काठमाडौं (९७७–०१–४४११५३०) मा सम्पर्क गर्न संघका प्रवक्ता डीबी क्षेत्रीले आग्रह गरेका छन् । यसैबीच परराष्ट्र मन्त्रालयले हालसम्म उद्धारका लागि कुनै योजना निर्माण नगरेको जनाएको छ ।
बिहीबार रुसले क्षेप्यास्त्र प्रहारसहित सैन्य आक्रमण गरेसँगै युक्रेन र रुसबीच द्वन्द्व बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रुसी सेना गाडीसहित दक्षिणी युक्रेनमा प्रवेश गरी गोलीबारी गरेको छ । जसले गर्दा युक्रेनमा सुरक्षा चुनौती थपिएको छ ।