काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे स्थगित २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बैंकले वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सो अवसरमा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ असार मसान्तको एनएफआरएसबमोजिम तयार गरिएको वासलात, आव २०७७/७८ को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरणलगायतका एकीकृत वित्तीय विवरणहरू छलफल गरी स्वीकृत भएको छ ।
यसैगरी वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफा रकमबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको २० प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ एक दशमलव शून्य पाँच प्रतिशत नगद लाभांश गरी कुल २१ दशमलव शून्य पाँच प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । सभाका अध्यक्ष उपाध्यायले सेयरधनीहरूबाट प्राप्त सल्लाह सुझावलाई शिरोधार्य गर्दै बैंकले आगामी दिनमा थप प्रगति हासिल गर्ने कुरा बताए । साथै सेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरूले पु-याएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै यस्तै सहयोग तथा सदाशयता निरन्तर प्राप्त हुने आशा प्रकट गरे ।
स्थगित २०औँ वार्षिक साधारणसभाबाट संस्थापक समूह (क) बाट राजेश उपाध्याय, सञ्जय गिरी र दिपककुमार रौनियार र सर्वसाधारण समूह (ख) बाट श्याम सुन्दर रुंगटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेल सञ्चालक पदमा निर्वाचित भएका छन् । वार्षिक साधारणसभा सकिएपछि सोही दिन बसेको सञ्चालक समितिको पाँच सय १८औँ बैठकले राजेश उपाध्यायलाई नै बैंकको अध्यक्ष पदमा सर्वसम्मतरूपमा पुनः चयन गरेको छ ।