काठमाडौं । सरकारले अमेरिकी सहयोग एमसीसी व्यख्यात्मक व्यवस्था सहित पास गरेको भएपनि शेयर बजारमा भने यसको प्रभाव देखिएको छैन ।
अघिल्लो दिन सात दशमलव ७३ अंकले ओरालो लागेको शेयर बजार परिसुचक एमसीसी पास भएपछिको भोलिपल्ट अर्थात साताको दोस्रो कारोवार दिन आज सोमबार पनि ४३ दशमलव १२ अंकले ओरालो लागेर २६ सय १० दशमलव ५८ बिन्दुमा झरेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ६४ अंकले ओरालो लागेर पाँच सय दशमलव २१ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २७ वटा कम्पनीहरुको शेयर खरिद बिक्री भएका छन् । जसअन्तर्गत ५४ हजार एक सय २१ पटकको कारोबारमा ७८ लाख ३४ हजार नौ सय १५ कित्ता शेयर कारोबार भएका छन् । सोही कारोबारका आधारमा आज कुल तीन अर्ब ६६ करोड एक लाख ८९ हजार आठ सय ६८ रुपैयाँको शेयर किनबेच भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल १३ उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर शेयर बजार पुरै रातो भएको छ ।