नयाँ दिल्ली, माघ २६
भारतको चर्चित व्यावसायिक समूह हिन्दुजा ग्लोबल सोलुसन्सको खुद मुनाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा ९३.७ प्रतिशतले बढेको छ । भारतीय मिडियाहरुका अनुसार कम्पनीले ७१.१ करोड भारु खुद मुनाफा आर्जन गरेको हो । पछिल्लो आर्थिक वर्ष २०१८/०१९ को अक्टोबर–डिसेम्बर त्रैमासिकमा कम्पनीले ३६.७ करोड भारु आर्जन गरेको थियो । भारतीय सेयरबजारमा दिइएको जानकारीअनुसार समीक्षा अवधिमा कम्पनीको आय ५ प्रतिशतले बढेर १ हजार ३ सय ३५ करोड भारु रहेको थियो ।
यसअघि पछिल्लो आर्थिक वर्षको सोही अवधिमा १ हजार २ सय ७२ करोड भारुको आय भएको थियो । कम्पनीका मुख्य कार्यकारी अधिकारी पार्थ डी सरकारले सन् २०१९/०२० को तेस्रो त्रैमासिकमा कम्पनीको आय उल्लेखनीय रुपमा बढेको जानकारी दिए । कम्पनीका अनुसार स्वास्थ्यकेन्द्रित र ग्राहकीय सेवाका कारण खुद मुनाफा वृद्धिमा योगदान पुगेको हो ।