काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरूमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुरयाउने उद्देश्यका साथ थप तीन स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा यही फागुन १५ गतेबाट रूपन्देही जिल्लाको देवदह नपा वडा नंं. ८, अर्घाखाँची जिल्लाको सितगंगा नपा वडा नं. २, सितापुर र लमजुङ जिल्लाको मध्य नेपाल नपा वडा नंं ७ रामबजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
देवदह नपामा देवदह मोबाइल एन्ड कम्प्युटर (प्रो. घनश्याम केसी), सितगंगा नपामा सचिन मोबाइल सेन्टर (प्रो. सचिन बोहोरा) र मध्य नेपाल नपामा इशानेश्वर इलेक्टोनिक्स, (प्रो. निर्दोश घिमिरे) लाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । देवदह रूपन्देहीमा बैंकका सञ्चालक भिम प्रसाद तुलाचन र देवदह नपा वडा नंं ८ का वडा अध्यक्ष्यश्री डण्डपानी भट्टराई, मध्यनेपाल लमजुङमा बैंकका सञ्चालक चतुराखर अधिकारी तथा अर्घाखाँची जिल्लाको सितगंगा–२ सितापुरमा सितगंगा नपा वडा नंं. २ का वडा अध्यक्ष्य गोवर्द्धन थापाले उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा बैंकका संस्थापकहरू, बैंकका अन्य कर्मचारीहरू, व्यावसायिक प्रतिनिधि तथा स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो । शाखारहित बैंकिङमार्फत खाता खोल्न,निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानीलगायतका सुविधाहरू प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।