काठमाडौं । नबिल बैंकले हेभर साझेदार तीनवटा नगरपालिकासँग सम्झौता गरेको छ । बैंकका अनुसार उद्यमशीलता विकास, दिगो आर्थिक विकास, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रवद्र्धन गर्ने उद्देश्यले हेफर प्रोजेक्ट नेपालको सहयोगमा नबिल बैंक र तानसेन नगरपालिका, रिब्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिका पाल्पाबीच सम्झौता भएको हो ।
पाल्पा जिल्लाको तानसेनमा गरिएको सम्झौतामा नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र पालिकाको तर्फबाट तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही, रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसि र तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा नबिल बैंक लिमिटेडका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले नेपालले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई बैंकको तर्फबाट सहयोग गर्ने उद्देश्यका साथ नबिल बैंकले लिएको दिगो बैंकिङको पहलमा यो सम्झौता कोशेढुंगा साबित हुने साथै यसले स्थानीयस्तरमा उद्यमशीलता विकास गर्दै आर्थिक रूपान्तरणमा सहयोग गर्ने बताए ।
कार्यक्रममा हेफर इन्टरनेसनल नेपालका कार्यक्रम निर्देशक डा. तीर्थराज रेग्मीले नबिल बैंकसँगको सहकार्यबाट उद्यमशीलता विकासमा ठूलो टेवा पुग्ने बताउँदै कृषि तथा पशु उद्यमशीलताको मूल्य श्रृंखलालाई अझ मजबुत बनाउँदै हेफर इन्टरनेसनले यो सम्झौतापत्रले लक्ष्य गरेका उद्देश्य प्राप्तिका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै यस अभियानमा सहभागी नबिल बैंक लिमिटेडप्रति आभार व्यक्त गरे ।
कार्यक्रमका अध्यक्ष एवं तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले कृषि पशुपालनको माध्यमबाट स्वरोजगारको सिर्जना गर्न तथा जनताको आर्थिक विकासमा टेवा पु-याउन आजको सम्झौतालाई इतिहासमै निकै महत्वपूर्ण दिनको रूपमा लिएको बताउँदै विगतमा सम्झौता हुने तर कार्यान्वयनमा ढिलासुस्ती हुने अवस्थाको अन्त्य गर्दै नबिल बैंकले पालिकाकाहरूको आर्थिक रूपान्तरणको अभियानमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।
नबिल बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले तानसेन नगरपालिका, रिब्दीकोट गाउँपालिका र तिनाउ गाउँपालिकाबाट उपस्थित विभिन्न उद्यमीहरूलाई कर्जा स्वीकृतिपत्र समेत हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै उनले आफूलाई ठूला–ठूला कर्जा दिँदाभन्दा निम्नवर्गको आर्थिक रूपान्तरण हुने कर्जा दिन पाउँदा हर्ष लागेको बताए ।
नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवशको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो । यस सम्झौतामार्फत नबिल बैंकले पाल्पा जिल्लाको आर्थिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने आशा लिएको छ ।