काठमाडौं । वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ । चालू आर्थिक वर्षको अर्धवाषिक अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत –नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई एक लाख ६७ हजार पाँच सय १३ जना पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८९ प्रतिशतले घटेको थियो । गत आर्थिक वर्षको उक्त अवधिमा १५ हजार ५१ जनाले वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिएका थिए ।
गत वर्ष कोभिड महामारीका कारण वैदेशिक रोजगारी प्रभावित बन्न पुग्दा श्रम स्वीकृति लिने युवाहरुको संख्यामा कमी आएको बताइएको छ । हाल भने कोभिडविरुद्धको खोप उपलब्धताले गर्दा वैदेशिक रोजगारीको क्षेत्र चलायमान बन्दा विदेश जाने युवाहरुको संख्या बढेको हो । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने युवाहरुको संख्या चालू आर्थिक वर्षको छ महिनाको अवधिमा २९८.१ प्रतिशतले बढेर एक लाख ३० हजार दुई सय १२ जना पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.५ प्रतिशतले घटेको थियो । पछिल्लो समय भने खाडीका छवटा मुलुकहरु, इजरायल, बेलायत, जापानलगायतका मुलुकमा जाने नेपालीहरु बढेको वैदेशिक रोजगार विभागका अधिकारीहरुले बताए । उनीहरुले अहिले श्रम स्वीकृति लिएर जापान, दक्षिण कोरिया तथा युरोप र अमेरिका जाने युवाहरु समेत बढेको बताए ।
त्यस्तै, पुनः श्रम स्वीकृति अर्थात् कतिपय मुलुकमा आगमन निषेध गरेको मुलुकमा यसअघि जान नपाएका युवाहरु यस वर्ष गएको हुँदा विदेश जाने संख्या बढेको हो । दक्षिण कोरिया र इजरायलले भने नेपालबाट युवाहरु लैजान थालिसकेको छ । ईपीएस प्रणालीमार्फत कोरिया र सरकार–सरकारमार्फत इजरायल युवाहरु जानथालेका हुन् । दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि युवाहरु इजरायल जाने गरेका हुन् ।
चालू आर्थिक वर्षको पुस महिनामा मात्र ६५ हजार एक सय ६० जना (६०७६४ पुरुष र ४३९६ महिला) ले श्रम स्वीकृति लिएका छन् । ८८ वटा मुलुकमा जानको लागि भन्दै युवाहरुले श्रम स्वीकृति लिएका हुन् । विभागले विदेश जाने युवाहरुको संख्या बढेसँगै ठगी समेत बढेको जनाएको छ । कोभिड महामारीका कारण विदेशमा रहेका कम्पनीहरु समेत पूर्ण रुपमा सञ्चालन हुन नसकेको अवस्थामा विदेश पठाइदिने भन्दै ठगी गर्नेहरुको संख्या बढेको बताइएको छ । जसले गर्दा युवाहरु सचेत रही विदेश जान समेत आग्रह गरिएको छ ।
यसैबीच, गत आर्थिक वर्षमा विदेशिने युवाको संख्यामा कमी आउँदा यसको प्रत्यक्ष असर विप्रेषण आप्रवाहमा समेत परेको छ । चालू आर्थिक वर्षको छ महिनाको अवधिमा विप्रेषण आप्रवाह ५.५ प्रतिशतले कमी आई चार खर्ब ६८ अर्ब ४५ करोड रुपैयाँ कायम हुनपुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.१ प्रतिशतले बढेको थियो ।