काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७७/०७८ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेका छन् । उनले दिउँसो राष्ट्रपति कार्यालय शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसमक्ष उक्त प्रतिवेदन पेश गरेका हुन् ।
प्रधानमन्त्री देउवाले नेपालको संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्ध एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०७७/०७८ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको उक्त प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताए ।
त्यसैगरी प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष देउवाले नेपालको संविधानको धारा २६६ को उपधार (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन समेत राष्ट्रपति भण्डारीसमक्ष पेश गरेका थिए । उक्त अवसरमा गृहमन्त्री बालकृष्ण खाँण, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायतका सरकारी अधिकारीहरुको उपस्थिति थियो ।