काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखा सामाखुशीमा संचालित २४औँ समूहको विपद् व्यवस्थापन आधारभूत तालिम समापन भएको छ । उक्त तालिम समापनका अवसरमा बुधबार आयोजित कार्यक्रमबीच सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम लाल ज्ञवालीले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरे ।
उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक ज्ञवालीले तालिममा सिकेका ज्ञान, सीप र दक्षतालाई चनाखो भई विपद् उद्दारमा प्रयोग गर्नुपर्ने बताए । प्रहरी कर्मचारीहरूलाई विपद्, खोज तथा उद्दार कार्य सम्बन्धी ज्ञान सीप प्रदान गरी दक्ष उद्दारकर्मी तयार गर्न तालिम प्रदान गरिएको उनले उल्लेख गरे ।
तालिम संयोजक प्रहरी नायब उपरीक्षक भरत बहादुर बिकले तालिम प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ४५ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी निरीक्षक दुई जना, प्रहरी नायब निरीक्षक तीन जना, प्रहरी सहा यक निरीक्षक तीन जना, प्रहरी हवल्दार तीन जना र प्रहरी जवान १९ जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिए ।