काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले सेयर बजारसम्बन्धी जानकारीमूलक कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको निर्देशनबमोजिम संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालको सेयर बजारमा कसरी प्रवेश गर्न सकिन्छ र धितोपत्रसम्बन्धी नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको विद्यमान ऐन नियम तथा निर्देशनहरूमा भएको व्यवस्था बारेमा जानकारी दिने र धितोपत्र व्यवसायी तथा मर्चेन्ट बैंकरहरूको काम, कर्तव्य र अधिकारहरूका बारेमा जानकारी दिने उद्देश्यले प्रदेश नम्बर ७ सुदूरपश्चिम प्रदेशको धनगढीमा यही फागुन २२ गतेका दिन सोसम्बन्धी जानकारीमूलक कार्यक्रम सञ्चालन गरेको हो ।
हालसम्म प्रदेश नम्बर ४ र प्रदेश नम्बर ७ मा सञ्चालन गरिएको यस्तो कार्यक्रम निकट भविष्यमा देशको सातै प्रदेशमा सञ्चालन गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा कम्पनीका इन्भेष्टमेन्ट बैंकिङ विभाग प्रमुख विकासचन्द्र भण्डारीले विद्यमान नेपालको धितोपत्र बजारबाट लिन सकिने फाइदाहरू र मर्चेन्ट बैंकरहरूले प्रदान गर्ने सेवाहरूको बारेमा प्रकाश पारेका थिए । स्थापनाकालको १२औँ वर्ष पूरा गरी १३औँ वर्षमा प्रवेश गर्दै गर्दा कम्पनीले आफ्ना ग्राहकहरूलाई दक्ष तथा अनुभवी कर्मचारीहरूसहित उत्कृष्ट सेवा प्रदान गर्दै आएको जनाएको छ ।
५० लाखभन्दा बढी डिम्याट खाता खुलिसकेको नेपालको धितोपत्र बजारमा २६ लाखभन्दा बढी प्राथमिक निष्काशनमा आवेदन पर्न थालिसकेको छ । यस्तो अवस्थामा धितोपत्र बजारसम्बन्धी यथार्थ जानकारी तथा यसमा कसरी प्रवेश गर्न सकिन्छ र यसबाट लिन सकिने फाइदाहरू तथा यसबाट हुने जोखिमहरूको बारेमा जानकारी दिनु नै यस कार्यक्रमको पहिलो उद्देश्य रहेको कम्पनीले जानकारी दिएको छ ।