पोखरा । पोखरा फाइनान्सका दुई जना सञ्चालकहरूले राजीनामा दिएका छन् । फाइनान्सका अनुसार वित्तीय संस्थाको सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक रेशमलाल पौडेल र स्वतन्त्र सञ्चालक विष्णुहरि तिमिल्सिनाले आफ्नो पदबाट राजीनामा दिएका हुन् । उनीहरू दुवैले दिएको राजीनामालाई फाइनान्सको यही फागुन २३ गते बसेको सञ्चालक समितिको पाँच सय दुई औं बैठकले स्वीकृत गरेको फाइनान्सले जानकारी दिएको छ ।
फाईनान्सले चालूु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुई करोड ९६ लाख १६ हजार पाँच सय तीन रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने फाईनान्सले नौ करोड ६८ लाख ८६ हजार एक सय ७१ रूपैयाँ खुद मुनाफा कमाएको थियो । चुक्ता पुँजी एक अर्ब चार करोड नौ लाख १९ हजार आठ सय १३ रूपैयाँ रहेको फाइनान्सले चालू आवको दोस्रो त्रैमासमा नौ अर्ब ५८ करोड ७६ लाख ६४ हजार आठ सय ५९ रूपैयाँ निक्षेप सङ्कलन गरी सात अर्ब ५४ करोड ३० लाख ६० हजार छ सय ८२ रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा १५ करोड ९१ लाख ८३ हजार चार सय ३८ रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा निष्क्रिय कर्जाको अनुपात एक दशमलव ५३ प्रतिशत रहेको छ । सो अवधिमा वितरणयोग्य नाफा चार करोड १९ लाख २८ हजार पाँच सय एक रूपैयाँ रहेको फाइनान्सको स्प्रेड दर भने चार दशमलव एक प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले आठ अर्ब ९८ करोड ६५ लाख ४५ हजार नौ सय ७९ रूपैयाँ निक्षेप सङ्कलन गरी पाँच अर्ब ८३ करोड ४७ लाख ५३ हजार दुई सय ८१ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १९ करोड ६२ लाख ८२ हजार सात सय ६३ रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव ३२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ३१ प्रतिशत रहेको थियो ।