काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो ११औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा बैंकको केन्द्रीय कार्यालय पुतलीसडकमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले ११ वर्ष अघि सरल बैंकिङ सबैंका लागि भन्ने नाराका साथ स्थापित सेञ्चुरी बैंक पुँजी, व्यवसाय वृद्धि, शाखा सञ्जाल विस्तार एवं रोजगारी सिर्जनालगायत सबै हिसाबमा ठूलो र मजबुद बैंक बनेकोे उल्लेख गर्दै बैंक आगामी दिनमा ग्राहकवर्गलाई अझ प्रभावकारी छिटोछरितो एवं गुणस्तरीय सेवा प्रदान गर्ने बताए ।
११ वर्षअघि स्थापित बैंकको चुक्ता पुँजी दुई अर्बबाट नौ अर्ब ५५ करोड, निक्षेप परिचालन एक अर्ब ३५ करोडबाट ९२ अर्ब ५७ करोड, ऋण प्रवाह एक अर्ब १८ करोडबाट ८८ अर्ब ५९ करोडभन्दा बढी पुगेको तथा ४४ जना कर्मचारीबाट ११ सयभन्दा बढी कर्मचारी संख्या पुगेको र अर्थतन्त्रमा महत्वर्पूण योगदान दिन सक्षम भएको बताए । उनले बैंकको व्यवसाय वृद्धिसँगै संस्थागत सुशासन कायम राखी बैंकलाई सेयरधनी, कर्मचारी, नियमनकारी निकायलगायत सबै सरोकारवालाहरूको रोजाइको बैंक बनाउने प्रतिबद्धता व्यक्त गरे ।
उक्त समारोहमा बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेले शुभकामना मन्तव्य राखेका थिए । उनले संस्था स्थापनाकाल र यस बैंकलाई यहाँसम्म ल्याउन अतुलनिय योगदान गर्ने सबैलाई हार्दिक सम्मान व्यक्त गर्दै आगामी दिनमा बैंकलाई अझ बढी सुदृढ र सबल बनाउँदै थप शाखा सञ्जाल विस्तार गर्ने, आगामी दिनमा डिजिटलाइजेसनलाई जोड दिने, वित्तीय सचेतना अभिवृद्धि एवं उद्यमशीलता विकास गरी सामाजिक आर्थिक उत्थान एवं व्यवसाय वृद्धि गर्दै जाने बताए । सो कार्यक्रममा १० वर्षदेखि निरन्तर सेवाप्रदान गरी बैंकको समग्र विकासमा पु-याएको योगदानको उच्च मूल्यांकन गर्दे बैंकका ४८ जना कर्मचारीहरूलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।
वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकका अध्यक्ष श्रेष्ठले लुम्बिनी आई इन्स्टिच्युटको व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणालाई आँखा उपचारमा प्रयोग हुने महत्वपूर्ण उपकरण खरिदको लागि चार लाख दुई हजार दुई सय ८० रुपैयाँ र गोविन्द मेमोेरियल एकाडेमी दिङ्ला भोजपुरमा विद्यार्थीहरूका लागि खानेपानी पाइप खरिदका निम्ति संस्थाका अध्यक्ष डा. सुरेश बस्नेतलाई एक लाख सहयोग रकम हस्तान्तर गरेका छन् । साथै बैंकले भोजपुर नगरपालिकामा आयोजित डा. भगवान् कोइरालालगायत ५० जनाभन्दा बढी चिकित्सक संलग्न हुने स्वास्थ्य शिविर कार्यक्रमलाई ५० हजार नेपाल रेडक्रस सोसाइटी कमलामाई सिन्धुलीलाई गरिब तथा विपन्न वर्गलाई स्वास्थ्य सेवामा सहयोग गर्न स्वास्थ्य सेवा कोष स्थापनाका लागि एक लाख सहयोग गरेको छ ।
वार्षिकोत्वका अवसरमा बैंकले देशभरका विभिन्न शाखाहरूमार्फत वित्तीय साक्षरता, शिक्षा क्षेत्रमा सहयोग, सचेतना अभिवृद्धि, स्वास्थ्य, रक्तदान, परोपकार, वातावरण संरक्षण, सरसफाइलगायतका विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । बैंकको बलवारी, बुटवल, धरान, लामीडाँडा, बेलाटारी, चिचिला, गरुडा, जलेश्वर, गौशाला, जनकपुर, वद्रिवास, सिराहा, धुलिखेल, पनौती, साँगा, मनहरी, धार्के, टेकु, बुटवल, लेते मुस्ताङ, नेपालगञ्ज, वेलाटारी, धनगढी, सतीलगायतका शाखाहरूले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेका छन् ।
बैंकको रंगेली शाखाले डेन्टल शिविर, झुम्का शाखाले आँखा चेक जाँच शिविर सञ्चालन गरेको छ । कटारी शाखाले स्थानीय राधा मन्दिर सरसफाइ, कमलामाई शाखाले कालीमाई मन्दिर, हलेसी शाखाले ऐतिहासिक हलेसी महादेव मन्दिर सरसफाइ, आठबीसकोट शाखाले नगरपालिकाको वार्ड नंं ९ मा डस्टबिन वितरण गरेको छ । त्यसैगरी विराटनगर, भैरहवा, परासी र कोहलपुर शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । विराटनगरमा ५१ जना, भैरहवामा ३६ जना, परासीमा २८ जना र कोहलपुरमा २६ जनाभन्दा बढीले रक्तदान गरेका थिए ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा सहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले आफ्ना एक सय २९ वटा शाखा, १० एक्सटेन्सन काउन्टर, २६ शाखारहित बैंकिङ र एक सय १३ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
सेन्चुरी बैंकको प्रादेशिक कार्यालयद्वारा रक्तदान
विराटनगर । सेञ्चुरी कमर्सियल बैंक प्रादेशिक कार्यालय विराटनगरले ११औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । आफनो वार्षिकोत्सवका अवसरमा बैंकले सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा प्रदेश १ मा सञ्चालनमा रहेका आफ्ना बैंकका विभिन्न शाखामार्फत सामाजिक कार्यको आयोजना गरिएको कुरा उक्त बैंकका प्रदेश प्रमुख दिपक कुमार पौडेल जानकारी दिएका छन् । सो अवसरमा प्रदेशभरका विभिन्न शाखाले रक्तदान, निःशुल्क दन्त शिविर, निःशुल्क आँखा शिविर, वित्तीय साक्षरता कार्यक्रम, मठमन्दिर सरसफाइलगायतका कार्यक्रम गरी मनाइएको जानकारी पौडेलले दिएका छन् ।
बैंकका प्रादेशिक प्रमुख पौडेलका अनुसार प्रदेश १ कार्यालय विराटनगरमा आयोजना गरिएको रक्तदानमा ४१ पिन्ट रगत संकलन गरिएको र झुम्कामा दुई सय ५० जनाभन्दा बढीको आँखा परीक्षण गरिएको छ । त्यस्तै रंगेलीमा ५० जनाभन्दा बढीको दन्त परीक्षण गरिएको छ । शुक्रबार विराटनगरस्थित मानवसेवा आश्रममा आश्रित रहेका वृद्धवृद्धालाई खाना खुवाएर आफ्नो बैंकको वार्षिकोत्वस सम्पन्न गरेको उनले बताए । (आर्थिक दैनिकबाट)