वासिङटन । अमेरिकाले रुसी हिरा र भोड्का आयातमा प्रतिबन्ध लगाएको छ । राष्ट्रपति जो बाइडेनले हिसा, समुद्री खाद्यवस्तु र भोड्कामाथि आयात प्रतिबन्धको घोषणा गरेको बीबीसीले जनाएको छ ।
युक्रेनमा रुसले गरिरहेको आक्रमणविरुद्ध अमेरिकाले चालेको यो पछिल्लो प्रतिबन्ध हो । अमेरिका, युरोपेली संघ र अन्य राष्ट्रहरुले समान व्यापार साझेदारको मान्यता पनि रुसलाई नदिने भएका छन् । योसँगै रुसमाथि थप प्रतिबन्ध लगाउने बाटो खुल्ला भएको छ ।
यसअघि नै अमेरिका र युरोपले रुसमाथि भारी प्रतिबन्ध लगाइसकेका छन् । प्रतिबन्धले रुसी मुद्रा रुबलको अवमूल्यन भइरहेको छ भने बहुराष्ट्रिय पश्चिमा कम्पनीहरुले धमाधम रुस छाडिरहेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी बैंकहरु र अर्बपतिहरुमाथिको पश्चिमा प्रतिबन्धलाई युद्धको घोषणा भनेका छन् । मस्कोले बन्द भएका उत्पादन प्लान्ट र कारखानाको राष्ट्रियकरण गर्ने चेतावनी दिएको छ ।
गएको शुक्रबारमात्रै पश्चिमा राष्ट्रहरुले प्रतिबन्ध थपेका छन् । युरोपेली संघले रुसी फलाम र स्टिलजन्य उत्पादन तथा नयाँ लगानीमाथि प्रतिबन्ध लगाएको छ । संयुक्त अधिराज्य बेलायतले सयौँ रुसी राजनीतिज्ञमाथि प्रतिबन्ध लगाएको छ । अमेरिका, ईयू र यूकेले रुस जाने विलासी वस्तुहरुको शिपमेन्ट नै रोक्ने चेतावनी दिएका छन् ।
यसबाहेक रुसले पाएको समान व्यापार साझेदारको दर्जा पनि खोसिएको छ । अन्तर्राष्ट्रिय नियमानुसार रुसले पाएको ‘मस्ट फेभर्ड नेसन’को दर्जाअनुसार कम भन्सार शुल्क, करको सुविधा मिल्थ्यो । योसँगै रुसले यी देशमा बेच्ने महत्वपूर्ण उत्पादनहरुमाथि थप शुल्क लाग्नेछ । खासगरी रुसी खनिज इन्धन, मल र धातुहरुमा यस्तो शुल्क लाग्नेछ ।
बाइडेनले युरोपेली संघ र अन्य विकसित अर्थतन्त्रसँग मिलेर रुसमाथि दबाब सिर्जना गर्ने बताएका छन् । यसबाहेक रुसलाई विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको पहुँचबाट पनि अलग गर्ने पश्चिमा राष्ट्रहरुले योजना बनाइरहेका छन् ।
रुसी वस्तु आयातमाािथको अमेरिकी प्रतिबन्धले राष्ट्रपति पुटिनलाई एक अर्ब अमेरिकी डलर आम्दानीमा धक्का पुग्ने ह्वाइटहाउसको आकलन छ । यो प्रतिबन्ध अमेरिकी विलासी वस्तु निर्यातमा प्रतिवर्ष ५५ करोड डलरबराबरको धक्का लाग्नेछ । उक्त रकम सन् २०१९ मा रुस–अमेरिकाबीच भएको २८ अर्ब डलरमध्ये हो ।