वासिङटन । युक्रेनमा रुसले आक्रमण जारी राखेको बेला संयुक्त राज्य अमेरिकाले चीनलाई चेतावनी दिएको छ । उक्त आक्रमणविरुद्ध आफूहरुले रुसमाथि लगाएको प्रतिबन्ध उल्लंघन गर्दै सहयोग गरे त्यसको परिणाम भोग्नुपर्ने भन्दै वासिङटनले बेइजिङलाई चेतावनी दिएको बीबीसीले जनाएको छ ।
नाम गोप्य राख्दै अमेरिकी सरकारी अधिकारीहरुले युक्रेनमा आक्रमणका लागि चीनसँग रुसले सैन्य सहयोग मागेको धेरै समाचार संस्थाहरुलाई बताएका थिए । चीनले भने त्यसको खण्डन गरेको छ । चिनियाँ विदेश मन्त्रालयले यसप्रति टिप्पणी गर्दै अमेरिकाले अफवाह फैलाएको आरोप लगाएको छ भने रुसले चीनसँग सहयोग नमागेको बताएको छ ।
रोममा अमेरिकी र चिनियाँ उच्च सरकारी अधिकारी भेट हुनुअघि यस्तो आरोप–प्रत्यारोप सुरु भएको हो । अमेरिकी मिडियाहरुले भने वासिङटनका सरकारी अधिकारीलाई उद्धृत गर्दै पछिल्लो दिनमा चीनसँग ड्रोनसहितका सैन्य उपकरण मागेको समाचार सम्प्रेषण गरेका थिए ।
सीएनएनसँगको अन्तर्वार्ताका क्रममा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीन र रुसबीच प्रत्यक्ष सम्पर्क रहेको बताउँदै बेइजिङलाई प्रतिबन्ध उल्लंघन गरी सहयोग गरे त्यसको परिणाम राम्रो नहुने उल्लेख गरे । उनले प्रतिबन्धबाट उम्किन रुसलाई नदिने पनि बताएका छन् ।