काठमाडौं । संघीय सरकारले कुल पाँच खर्ब ९१ अर्ब दुई करोड रुपैयाँ खर्च गरेको छ । महालेखा नियन्त्रकको कार्यालयलाई उद्धृत गर्दै नेपाल राष्ट्र बैैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको पछिल्लो सात महिनाको अवधिमा संघीय सरकारले उक्त खर्च गरेको हो ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा चालू खर्चतर्फ चार खर्ब ७५ अर्ब ६२ करोड, पुँजीगत खर्चतर्फ ६० अर्ब ७९ करोड र वित्तीय व्यवस्थाअन्तर्गतको खर्चतर्फ ५४ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । चालू आर्थिक वर्षको पछिल्लो सात महिनामा सरकारको कुल राजस्व रकम भने छ खर्ब १३ अर्ब ४१ करोड रुपैयाँ परिचालन भएको छ । यसमा प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत समावेश भएको राष्ट्र बैंकको भनाइ छ । यसमध्ये कर राजस्वतर्फ पाँच खर्ब ६० अर्ब ८४ करोड र गैरकर राजस्वतर्फ ५२ अर्ब ५७ करोड परिचालन भएको छ ।
यसैगरी चालू आर्थिक वर्षको पछिल्लो सात महिनामा संघीय सरकारले ट्रेजरी बिलमार्फत २३ अर्ब र विकास ऋणपत्रमार्फत २९ अर्ब ५० करोड परिचालन गरी ५२ अर्ब ५० करोड आन्तरिक ऋण परिचालन गरेको छ । नगद मौज्दातअन्तर्गत भने २०७८ माघ मसान्तमा राष्ट्र बैंंकमा रहेका सरकारका विभिन्न खातामा तीन खर्ब चार अर्ब ४२ करोड रुपैयाँ रहेको छ । यो रकममा प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत समावेश रहेको राष्ट्र बैंकको भनाइ छ । २०७८ असार मसान्तमा यस्तो मौज्दात दुई खर्ब अर्ब १८ करोड रहेको थियो ।
चालू आवको माघ महिनासम्ममा प्रदेश सरकारको स्रोतप्राप्ति ८९ अर्ब सात करोड छ । यसमा संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको अनुदान र संघीय विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी ६३ अर्ब ५४ करोड र प्रदेश सरकारहरुले परिचालन गरेको राजस्व र अन्य स्रोतबाट २५ अर्ब ५३ करोड रहेको छ । त्यसैगरी, यस अवधिमा प्रदेश सरकारहरुको खर्च ४९ अर्ब ३१ करोड रुपैयाँ रहेको राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैैंकका अनुसार चालू आवको सात महिनामा विस्तृत मुद्राप्रदाय दुई दशमलव आठ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय १० दशमलव तीन प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ माघ मसान्तमा विस्तृत मुद्राप्रदाय १३ दशमलव पाँच प्रतिशतले बढेको छ । समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्यांकन नाफा/नोक्सान समायोजित) दुई खर्ब ४७ अर्ब तीन करोड अर्थात् १८ दशमलव पाँच प्रतिशतले घटेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति ९७ अर्ब ३६ करोड सात दशमलव तीन प्रतिशतले बढेको थियो । यसैगरी चावको सात महिनाको अवधिमा सञ्चित मुद्रा १३ दशमलव पाँच प्रतिशतले घटेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा आठ दशमलव एक प्रतिशतले घटेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ माघ मसान्तमा सञ्चित मुद्रा एक प्रतिशतले घटेको राष्ट्र बैंकको भनाइ छ ।
