काठमाडौं । डिजिटल बैंकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरू सार्वजनिक गरेको छ । वैशाख ७ गतेको १५औँ वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यही चैत ७ गतेदेखि वैशाख ७ गतेसम्म एक महिनाको लागि लागू हुनेगरी विभिन्न सेवा सुविधामा भारी छुट र क्यास ब्यकलगायतका योजनाहरू सार्वजनिक गरेको हो ।
सो योजनाअन्तर्गत डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरूले पस मेसिन र अनलाइनमार्फत एक हजार रुपैयाँ वा बढीको कारोबार गर्दा एकमुष्ट दुई सय रुपैयाँ क्यास ब्याक दिइनेछ । यसैगरी पहिलो पटक क्यूआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकहरूको लागि एक सय रुपैयाँको क्यास ब्याक प्रदान गरिने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ । डिजिटल भुक्तानीको अर्को माध्ययम इकम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधिभरमा इकम कार्ड लिने ग्राहकहरूलाई सो कार्ड निःशुल्करूपमा उपलब्ध गराउनेछ । त्यस्तै, पाँच लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बीमा तथा ५० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा सुविधासहितको सिटिजन्स संरक्षित बचत खाता खोल्दा बचतकर्ताहरूको लागि निःशुल्क डेबिट कार्ड, मोबाइल÷ इन्टरनेट बैंकिङ, डिम्याट खाता प्रदान गर्नुका साथै देशभरका कुनै पनि बैंकको एटीएमबाट निःशुल्क रकम निकाल्न सकिने व्यवस्था समेत गरेको छ ।
बैैंकले आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै किओस्क सेवाको सुरुवात गरेको छ । किओस्कमार्फत प्रारम्भिकरूपमा ग्राहकहरूले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ चेक डिपोजिट गर्ने, एटीएम तथा बैंकका शाखाको विवरणहरू प्राप्त गर्नेजस्ता सेवा बैंकका कर्मचारीको सहयोगविना नै प्राप्त गर्न सक्नेछन् ।
साथसाथै यस बैंकका ग्राहकहरूको बैंकसम्बन्धी जिज्ञासा तथा समस्याहरूको छिटोभन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्देश्यले ग्राहक साहायता केन्द्रको समेत स्थापना गरिसकेको छ । जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरूसँग सम्पर्क गरी आफ्ना बैंकिङसम्बन्धी जिज्ञासा तथा समस्याहरूको समाधान शाखामा उपस्थित नभईकन ०१–५९७००६८ नम्बरमा फोन गरी प्राप्त गर्न सक्नेछन् । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरूले सहजरूपमा सेवा प्राप्त गरी लाभान्वित हुने तथा डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । बैंकले देशभर एक सय ७४ वटा शाखा, एक सय २३ वटा एटीएम र ९० वटा शाखारहित बैंकिङ इकाइहरूबाट १३ लाखभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको जानकारी दिएको छ ।