काठमाडौं । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुमध्ये नेपाल राष्ट्र बैंकले एकैपटक १४ वटा वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ । नेपाल राष्ट्र बैंक बैंक सुपरिवेक्षण विभागका अनुसार चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमा देखिएका विभिन्न कैफियतहरुका आधारमा १४ वटा बैंकहरुलाई कारबाही गरिएको हो । कारबाहीमा परेकामध्ये प्र्रभु बैंकलाई अनिवार्य नगद मौज्दात, वैधानिक तरलता अनुपात कायम नगरेको देखिएको छ । सोही आधारमा प्रभुलाई एक लाख ८० हजार चार सय ३० रुपैयाँ १४ पैसा जरिवाना तिराइएको छ ।
यसैगरी नेपाल बैंकले भने बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०७८ को निर्देशन नं. १५ तथा बैंक तथा वित्तीय संस्था नियमन विभागले मिति २०७८ जेठ ११ मा जारी गरेको परिपत्रमा भएको व्यवस्थाबमोजिम बोलकबोलको आधारमा संलग्न हुने मुद्दती निक्षेपको हकमा प्रकाशित ब्याजदर तीन महिनासम्म परिवर्तन गर्न नपाइने भन्ने व्यवस्थाको पालना नगरेको देखिएको छ ।
सोही आधारमा नेपाल बैंकलाई आगामी दिनमा उल्लिखित व्यवस्थाको पालना हुने गरी भविष्यमा यस्तो त्रुटि नदोहोरिने गरी कार्य गर्न नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराइएको छ । यसैगरी नेपाल बैंकलाई गरिएको अर्को कारबाहीमा बैंकले एटलस इन्जिनियरिङ कन्स्ट्रक्सन कम्पनीको खाता रोक्का राख्ने निर्देशन पालना नगरेकाले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको जानकारी पनि राष्ट्र बैंकले दिएको छ ।
राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, सनराइज बैंक, मेगा बैंक र सेञ्चुरी कमर्सियल बैंकले भने बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०७८ को निर्देशन नं १५ तथा बैंक तथा वित्तीय संस्था नियमन विभागले मिति २०७८ जेठ ११ मा जारी गरेको परिपत्रमा भएको व्यवस्थाबमोजिम बोलकबोलको आधारमा संलग्न हुने मुद्दती निक्षेपको हकमा प्रकाशित ब्याजदर तीन महिनासम्म परिवर्तन गर्न नपाइने भन्ने व्यवस्थाको पालना नगरेको देखिएको छ । सोही आधारमा आगामी दिनमा उल्लिखित व्यवस्थाको पालना हुने गरी भविष्यमा यस्तो त्रुटि नदोहोरिने गरी कार्य गर्न नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम ती सबै बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको विभागले जानकारी दिएको छ ।
यसैगरी स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र एनएमबी बैंकले पनि बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन नं. १५ क तथा मिति २०७८ जेठ ११ मा जारी गरिएको कल निक्षेपबाहेकका ब्याज प्रदान गरिने निक्षेप खाताहरुमा दिइने अधिकतम र न्यूनतम ब्याजदरबीचको अन्तर पाँच प्रतिशतभन्दा बढीले फरक पार्न पाइनेछैन भन्ने व्यवस्था उल्लंघन गरेको देखिएको छ । सोही सन्दर्भमा आगामी दिनमा उल्लिखित व्यवस्थाको पालना हुने गरी तथा भविष्यमा यस्तो त्रुटि नदोहोरिने गरी उल्लिखित कार्य गर्न नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम ती बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई सचेत गराइएको कारबाहीसम्बन्धी विवरणमा उल्लेख छ ।
