बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका सबै ठाउँमा सुलभ स्वास्थ्य सेवा प्रवाहका लागि सरकार क्रियाशील रहेको बताएका छन् । बागलुङको गलकोट नगरपालिका ५ हरिचौरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवन उद्घाटनपछि उनले जनशक्ति व्यवस्थापन अहिलेको मुख्य चुनौती रहेको बताए ।
कोरोना महामारीको नियन्त्रण र रोकथाममा स्वास्थ्यकर्मीले पु-याएको योगदानको कदर गर्दै उनले कोरोनाकै कारण प्रदेशको स्वास्थ्य संरचनामा सुधार भएको उल्लेख गरे । संरचनागत रुपमा भवनहरु भए पनि स्वास्थ्य उपकरण र जनशक्ति अभाव भएकोबारे आफू जानकार रहेकोले यो समस्या समाधानका लागि तत्काल पहल गर्ने उनले प्रतिबद्धता जनाए । उनले भने, ‘मुख्य सहरवाहेक अन्तका स्वास्थ्य संस्थामा विशेषज्ञ सेवा दिने चिकित्सक पु-याउन सकिएको छैन, विशेष प्रोत्साहन दिएर भए पनि हामी उनीहरुदलाई ग्रामीण भेगामा पठाउँछौं ।’
सिमित स्रोत र साधनका बीच प्रदेश सरकारले भौतिक संरचनाका अतिरिक्त सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको उनले सुनाए । स्वास्थ्य क्षेत्रलाई सुदृढ गर्नकै लागि स्वास्थ्य नीति जारी गरिएको र अब यसकै कार्यान्वयका लागि ऐन बनाउन लागिएको मुख्यमन्त्री पोखरेलले बताए । हरिचौर स्वास्थ्य केन्द्रको स्तरोन्नती गरी नगर अस्पताल घोषणा गरिए पनि कार्यन्वयनमा आउन नसकेको गुनासो आएको भन्दै उनले यसबारेमा आफूले चासो दिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा प्रदेश सभा सदस्य एवं राष्ट्रिय जनमोर्चाकी नेतृ पियारी थापाले नेपालको शैक्षिक प्रणालीकै कारण स्वास्थ्य क्षेत्रमा पर्याप्त जनशक्ति पाउन नसकिएको बताइन् । गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरेले करिब चार वर्षको अवधिमा स्थानीय सरकारले सक्दो काम गरेका दाबी गरे । अस्पतालको स्तरोन्नती र सञ्चालनका लागि कार्यापालिकाबाट निर्णय गरे पनि प्रदेश र संघका कार्यालयमा पुग्दा अलमल हुने गरेको उनले सुनाए ।
उपमेयर रेनुकुमारी काउचा मगरले सिमित स्रोत र साधनका बीच पनि आफूहरुले कार्यसम्पादन गर्दै आएको बताइन् । तीन बेडका लागि स्वीकृति पाएको भए पनि अहिले अस्पतालमा १५ बेड चालु छ । आठ रोपनी जमिनमा सात करोड लगानीमा स्वास्थ्य केन्द्रको भवन निर्माण भएको हो । दुई जना मेडिकल अधिकृतसहित १४ कर्मचारी कार्यरत संस्थामा मासिक १२ सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् ।
मेडिकल अधिकृत डा. सन्देश मल्लले अहिले स्वास्थ्य केन्द्रमा एक्सरे, एम्बुलेन्स, इसिजी, ल्याबसहित चौबीसै घण्टा इमरजेन्सी सेवा सञ्चालन हुँदै आएको बताए । जनशक्तिको अभावमा ल्याब चौबीसै घण्टा सञ्चालन गर्न नसकिएको भन्दै उनले एक्सरे मेसिन सञ्चालन कार्यालय सहयोगीले गर्नुपर्ने अवस्था रहेको सुनाए । गलकोट सेवा जापानले स्वास्थ्य केन्द्रलाई आधुनिक एक्स–रे मेसिन प्रदान गरेको छ ।