काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थाहरूलाई सहयोग गर्ने उद्देश्यले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको दरबारमार्ग शाखाले नक्साल, काठमाडांँैस्थित नन्दी माध्यामिक विद्यालयलाई खेलकुदका सामग्री तथा पानी ट्याङ्कीका लागि ५० हजार रुपैयाँबराबरको आर्थिक सहयोग प्रदान गरेको हो ।
विद्यालयको प्राङ्गरणमा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त सहयोग रकम प्रदान गरिएको हो । विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई गुणस्तरीय शिक्षासँगै शारीरिक तथा बौद्धिक विकासका लागि खेलकुद अपरिहार्य भएको र कोभिड १९ को जोखिमलाई न्यूनीकरण तथा अन्य संक्रमित रोगबाट बच्न सहयोग पुग्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको दरबारमार्ग शाखा प्रबन्धक प्रकाश घिमिरेले बताए । यस सहयोगबाट विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरूको स्वस्थ जीवनयापनमा मदत पुग्ने विश्वास बैंकले लिएको छ । उक्त कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक गीता काफ्लेले बैंकले विद्यालयलाई विगतमा पनि बास्केटबल कोर्ट तथा टेबलटेनिस कोर्ट तयार गर्न सहयोग गरेको व्यहोरा जानकारी गराउँदै बैंकले गरेको सहयोगप्रति कृतज्ञता जाहेर गरे ।
बैंकको कर्पोरेट कम्युनिकेसन विभागका प्रमुख अमितकुमार झाले विद्यार्थीहरू देशका कर्णधार भएकोले गुणस्तरीय शिक्षा तथा खेलकुद अपरिहार्य रहेको बताउँदै यो सहयोगले विद्यार्थीहरूको सर्वाङ्गिण विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरूलाई थप प्रभावकारीरूपमा निरन्तरता दिने बैंकले जनाएको छ ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल एक सय तीनवटा शाखाहरूमार्फत करिब छ लाख ग्राहकहरूलाई उच्चस्तरीय वित्तीय सेवाहरू सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ ।