काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार टोखा नगरपालिका–१ भत्केको पुल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–७ घर भएका ४२ वर्षीय राजेन्द्र विश्वकर्मालाई शुक्रबार पक्राउ गरिएको हो ।
उच्च अदालत पाटनको २०७८ फागुन १० गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा २० लाख रुपैयाँ जरिवाना र पाँच दिन कैद सजाय ठहर भई फरार रहेका विश्वकर्मालाई काठमाडौंको टोखाबाट पक्राउ गरेको हो ।
राजेन्द्रले बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको मेगा बैंक लिमिटेड गोंगबु शाखाको चेकको रकम भुक्तान हुन नसकेको घटनामा उनलाई अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको सीआईबीले जानकारी दिएको छ ।