काठमाडौं । जग्गा खण्डीकरण र बिक्रीबापतको प्रतिफल दिने भन्दै झुक्याएर दुई करोड रुपैयाँभन्दा बढी रकम ठगी गर्ने एक महिला पक्राउ परेकी छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार ठगी तथा आपराधिक विश्वासघात कसुरमा संलग्न रहेको आरोपमा काठमाडौं महानगरपालिका–१६ घर भएकी ५४ वर्षीया बिमला श्रेष्ठलाई पक्राउ गरिएको हो ।
पीडितको नवलपरासी जिल्लास्थित जग्गा/जमिन खण्डीकरण र बिक्री गरी सोबापत प्राप्त प्रतिफल बाँडफाँट गर्नेलगायतको झुक्यानमा पारी जग्गा लिई पीडितलाई दिनुपर्ने नगद दुई करोड ५६ लाख रूपैयाँ नदिई फरार रहेको परिसरले जानकारी दिएको छ । सोही जानकारी र पीडितले दिएको जाहेरीको आधारमा श्रेष्ठलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१६ बालाजुबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पठाइएको परिसरले जानकारी दिएको छ । यसैगरी प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी हरिनगर गाउँपालिका–१ बस्ने ३६ वर्षीय सम्सेर आलमलाई पनि तीन वर्षपछि पक्राउ गर्न सफल भएको जानकारी दिएको छ । उच्च अदालत विराटनगरको २०७५ फागुन २७ गतेको फैसलाले उक्त मुद्दामा तीन महिना कैद र ७१ लाख ९० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका आलमलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका आलमलाई फैसला कार्यान्वयनको लागि अदालतमा उपस्थित गराइएकोमा अदालतको आदेशले झुम्का कारागार कार्यालय प्रहरीले जानकारी दिएको छ ।