काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले समयमै निर्माण आयोजनाका काम सकेर पुँजीगत खर्च गर्ने सरकारको लक्ष्यमा सघाउन निर्माण व्यवसायीहरूलाई आग्रह गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री शर्माले निर्माण व्यवसायी र सरकारबीच सहकार्य गरी भौतिक पूर्वाधार विकास कार्यमा अगाडि बढ्नुपर्ने बताए । यस्तै उनले सार्वजनिक खरिद नियमावलीको एघारौँ संशोधनमा केही प्राविधिक त्रुटिहरू देखिएको भन्दै संशोधनमा देखिएका प्राविधिक त्रुटिहरू संशोधन गर्ने आश्वासन समेत दिए ।
२३औँ साधारणसभा तथा १२औँ अधिवेशनको काठमाडौं घोषणापत्र कार्यान्वयन तथा सार्वजनिक खरिद नियमावलीको एघारौँ संशोधनका विषयमा जानकारी गराउन महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार अर्थमन्त्री शर्मालाई भेटेको हो । महासंघ प्रतिनिधिमण्डलले अत्यधिक मूल्यवृद्धिका कारण निर्माणकार्य अघि बढाउने अवस्था नरहेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयमार्फत मूल्य समायोजन मागदर्शन—२ जारी गराउन आवश्यक पहलकदमीका लागि मन्त्री शर्मासमक्ष आग्रह गरेको छ ।
महासंघ प्रतिनिधिमण्डलमा महासंघका महासचिव रोशन दाहाल, उपमहासचिव (नीतिगत) शिवहरि घिमिरे, कोषाध्यक्ष हिरणकुमार श्रेष्ठ, सहकोषाध्यक्ष सन्तोष शाह, कार्यसमिति सदस्यहरू अशोक केसी, राजकुमार बस्ताकोटी, कार्यालय प्रमुख प्रेमसिंह ऐर र जनसम्पर्क अधिकृत रामचन्द्र गिरीलगायतको सहभागिता रहेको थियो ।