अमेरिका । खाद्य बिक्रेता नेसलले रुसस्थित आफ्ना व्यावसायिक ब्रान्डहरु निलम्बन गरेको घोषणा गरेको छ । यसमा किटक्याट र नेसक्विक ब्रान्ड समेत रहेका छन् । यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशविरुद्ध आक्रमण गरिरहेको रुसमा व्यवसायलाई निरन्तरता दिएको भन्दै कम्पनीको चर्को आलोचना गरेका थिए । सोसँगै कम्पनीले नेसल ब्रान्डहरु निलम्बन गरेको हो ।
यसअघि नै गैरआवश्यकीय आयात र निर्यात रोकिसकेको पनि कम्पनीले जनाएको छ । यसबाहेक रुसमा विज्ञापन र लगानी रोकेको कम्पनीको भनाइ छ । रुसमा व्यवसाय गरेर फाइदा हुने अवस्था समेत नरहेको कम्पनीले उल्लेख गरेको छ । नेसलले अत्यावश्यकीय खाद्यान्नमा मात्रै रुसमा केन्द्रित हुने उल्लेख छ ।
रुसमा रहेका खाद्य कारखानामा रहेका आफ्ना कर्मचारी पहिचान गरी सहयोग गर्नमा कम्पनी केन्द्रित रहेको पनि बताइएको छ । यही मार्च ११ मा नेसलले रुसबाट उत्पादित वस्तु निर्यात निलम्बन गरेको घोषणा गरेको थियो ।