काठमाडौं । वैदेशिक लगानीमा बनेको खिम्ती जलविद्युत् आयोजनाबाट प्राप्त हुने आम्दानी नेपाल विद्युत् प्राधिकरणले पाउनसकेको छैन । महालेखापरीक्षणको ५८औँ प्रतिवेदनअनुरुप वैदेशिक लगानीमा बनेको खिम्ती जलविद्युत् आयोजनाबाट ६० मेगावाट विद्युत् उत्पादन गर्ने गरी २०५१ मंसिर २९ मा विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरेको थियो ।
सम्झौताअनुसार उत्पादन सुरु भएको २० वर्षपछि एक रुपैयाँ मूल्यमा ५० प्रतिशत स्वामित्व विद्युत् प्राधिकरणको हुने उल्लेख छ । उक्त कम्पनीले २०५७ असारदेखि व्यापारिक उत्पादन सुरु गरेकोले २०७७ असारमा ५० प्रतिशत स्वामित्व हस्तान्तरणका लागि प्राधिकरण र प्रवर्धक कम्पनी दुवैको स्वामित्व रहने गरी छुटै कम्पनी स्थापना गर्नुपर्ने, हाल उक्त कम्पनी नबनिसकेको, नयाँ कम्पनीले पुनः विद्युत् बिक्रीको लागि विद्युत् खरिद सम्झौता गर्नुपर्नेजस्ता प्रक्रिया पूरा नभएको कारण जनाई स्वामित्व हस्तान्तरणमा ढिलाइ गरेको देखिन्छ । यसबाट प्राधिकरणलाई प्राप्त हुने आयमा असर नपर्ने व्यवस्था हुनुपर्ने महालेखाले जनाएको छ ।
यता विद्युत् विकास विभागका अनुसार हिमाल पावरले करिब पाँच अर्बबराबरको बिजुली बिक्री गरेको छ । उसले दुई आर्थिक वर्षमा उक्त रकमबराबरको बिजुली बेचेको हो । यता प्राधिकरणको अधिकारीहरुले भने खिम्तीबाट प्राप्त हुने आम्दानी प्राधिकरणले पाउने गरेको बताएका छन् । ‘हामीसँग खिम्तीबाट प्राप्त भएका आम्दानी प्राप्त गरेको छौँ । त्यतिमात्र नभई हामीसँग लेखापरीक्षण समेत भएको छ’, एक अधिकारीले दाबी गरे । खिम्ती आयोजनाको लगानीकर्ता नर्वेली कम्पनी हो । उसले सम्झौताअनुरुप आम्दानी वितरण नगर्दा समस्या देखिएको हो । सो विषयमा सरकार तथा सरोकारावालाहरु भने मौन बसेको पाइन्छ ।
वि.सं. २०७६ फागुनमा प्राधिकरण र आयोजना प्रवद्र्धकबीच स्वामित्वलाई लिएर छलफल भएको छ । हिमाल पावर र प्राधिकरणबीच स्वामित्व हस्तान्तरणको विषयमा छलफल भए पनि स्वामित्वलाई लिएर कुनै निर्णय हुनसकेको पाइँदैन । तत्कालीन समयमा आयोजना १४ करोड २० लाख अमेरिकी डलरमा निर्माण भएको हो ।