अमेरिका । कच्चा तेल फेरि सस्तिनथालेको छ । कोरोना फैलिने डरसँगै चीनले शांघाईमा लकडाउन सुरु गरेको थियो । यसले ऊर्जा मागलाई लिएर तेल बजारमा सोमबार हलचल ल्याएको थियो ।
कोरोनाबारेका समाचार आउनथालेसँगै अमेरिकी कच्चा तेल ७.९ प्रतिशतले घटेको हो । त्यस्तै ब्रेन्ट कच्चा तेल सात प्रतिशतले घटेको छ । गत हप्ता भने तेलको मूल्य आकाशिएको थियो । चीनले झण्डै आधा शांघाईमा लकडाउन लगाएको छ ।
विश्लेषकहरुले अहिले तेलको मूल्य सस्तिनुमा चीन नै मुख्य कारण भएको उल्लेख गरेका छन् । ‘अहिलेको अवस्थालाई भन्ने हो भने चीन नै ठूलो डरको कारण हो’, आरबीसी क्यापिटल मार्केट्सका प्रबन्धनिर्देशक माइकेल ट्रानले भने । हप्तौँसम्म यसअघि बजार युक्रेनमाथिको रुसी आक्रमणले सिर्जना गरेको बजार आपूर्ति शृंखलामै केन्द्रित थियो ।
सोमबारको तेल बिक्री अवस्थाले पनि बजार ऊर्जा मागमा निकै लचक भएको देखिएको छ । खासगरी चीनमा यस्तो देखिएको बताइएको छ । चीन विश्वकै ठूलो तेल आयात गर्ने देश हो । चीनले ठूलो परिमाणमा पेट्रोल मात्रै आयात गर्दैन हवाइ इन्धन र डिजेल पनि उस्तै परिमाणमा आयात गर्छ । तर विश्वमा नै अहिले ऊर्जा माग बढेको देखिएको छ ।
शांघााईमा साढे दुई करोड जनसंख्या छ भने चिनियाँ अर्थतन्त्रको महत्वपूर्ण सहर पनि हो । चीन सरकारको निर्णयसँगै यसमध्ये आधा जनसंख्या घरबाहिर निस्किन नपाउने भएका छन् ।
पछिल्लो कारोबारमा अमेरिकी कच्चा तेल उक्त दरले घटेर १०४.९२ अमेरिकी डलर प्रतिब्यारेल कायम भएको छ । यो वर्षमात्रै कच्चा तेल ४० प्रतिशत बढीले वृद्धि भएको छ । गत हप्ता झण्डै नौ प्रतिशतले बढेको थियो । यता ब्रेन्ट कच्चाा तेल उक्त दरले घटेर ११२.११ डलर प्रतिब्यारेल कायम भएको सीएनएनले जनाएको छ । यद्यपि पेट्रोल पम्पहरुमा भने तेलको मूल्य अहिले पनि उच्च नै छ ।