काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजना तथा नेपाल बैक लिमिटेड चौतारा शाखाकोे सहकार्यमा यही चैत ११ गते शुक्रबार कृष्ण रत्न गंगा मावि चौतारामा डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नं.५ का वडा अध्यक्ष नरमान श्रेष्ठको सभापतित्वमा सम्पन्न सो वित्तीय साक्षरता कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्काले पानसमा बत्ती बालेर गरेका थिए ।
विशिष्ट अतिथिको रूपमा चौतारा साँगाचोकगढि नगरपालिकाका प्रमुख अमानसिं तामाङ र नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत होम बहादुर खड्का रहेको उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ, नेपाल बैंकका बागमती प्रादेशिक कार्यालयका प्रमुख विनय केसरी पौड्याल, जिल्ला प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान प्रमुख, नेपाली सेना गोरख बक्स गणका गणपति, विद्यालयका प्रधानअध्यापकलगायत शिक्षकशिक्षिकाहरू, विभिन्न राजनीतिक दलका स्थानीय जनप्रतिनिधिहरूलगायतका अतिथिहरूका साथै कृष्ण रत्न गंगा माविका विद्यार्थीहरू, स्थानीय बासिन्दाहरू, व्यापारीहरू, व्यवसायीहरूलगायतकोे उपस्थितिमा करिब ३ घण्टा सो कार्यक्रम सञ्चालन भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्काले सिन्धुपाल्चोकको चौतारामा सबैभन्दा पहिला वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेकोमा नेपाल बैंकलाई धन्यवाद दिँदै डिजिटल बैंकिङ अबको आवश्यकता भएको र हरेक नेपालीलाई यससम्बन्धी सचेतना दिनुपर्ने आवश्यकता रहेको कुरा व्यक्त गरे । साथै त्यस क्षेत्रका बासिन्दाहरूको वित्तीय आवश्यकता पूरा गर्न नेपाल बैंकले थप नयाँ कार्यक्रमहरू सञ्चालन गर्दै जाने विश्वास पनि उनले व्यक्त गरेका थिए ।
त्यसैगरी साँगाचोक गढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले वित्तीय साक्षरता अभियान सञ्चालन गरेकोमा नेपाल बैंकलाई धन्यवाद दिँदै यस कार्यक्रमबाट यस क्षेत्रका विद्यार्थीलगायत समाजका सबै वर्गमा वित्तीय ज्ञान हाँसिल भई आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे । नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत होम बहादुर खड्काले विश्वभरि नै वित्तीय साक्षरताको लहर फैलिएको र समाजका हरेक व्यक्ति वित्तीय रूपमा सचेत भएमा मात्र देश समृद्ध हुने धारण व्यक्त गरे ।
नेपाल बैंकले आमजनताका वित्तीय आवश्यकताहरूलाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी गराउँदै त्यस क्षेत्रका मानिसहरूले नेपाल बैंकप्रति देखाएको अपार विश्वासप्रति कृतज्ञता प्रकट गर्दै नेपाल बैंकका गुणस्तरीय बैंकिङ सेवा सुविधाहरू प्रयोग गरी लाभान्वित हुन सबैमा आग्रह गरेका थिए । उक्त कार्यक्रममा नेपाल बैंकका मार्केटिङ तथा रिसर्च डिभिजन प्रमुख अर्जुन बहादुर कँडेलले वित्तीय साक्षरताको आवश्यकता एवं महत्वकोे बारेमा प्रकाश पारेका थिए ।