काठमाडौं । रुसी आक्रमणको सामना गरिरहेको युक्रेनले नेपाललाई रुसी पर्वतारोहीमाथि प्रतिबन्ध लगाउन आग्रह गरेको छ । भारतीय राजधानीमा रहेको युक्रेनी राजदूतावासले नेपाललाई पत्रमार्फत उक्त आग्रह गरेको बीबीसीले जनाएको छ ।
यो सिजनमा नेपालले नौ रुसी पर्वतारोहीलाई हिमाल आरोहणका लागि अनुमति दिएको छ । युक्रेनी दूतावासलाई उद्धृत गर्दै लेखिएको समाचारमा बीबीसीले युक्रेनी दूतावासले नेपाललाई कूटनीतिक नोट पठाएकोा उल्लेख छ । धेरै अन्तर्राष्ट्रिय खेलकुदमा रुसमाथि प्रतिस्पर्धा गर्न प्रतिबन्ध लागेको अवस्थामा नेपालले पनि रुसी पर्वतारोहीलाई प्रतिबन्ध लगाउनुपर्ने जनाएको उल्लेख छ ।
पत्रमा भनिएको छ, ‘रुसी पर्वतारोहण दलमाथि युक्रेनमा रुसको आक्रमण अन्त्य नभएसम्मका लागि प्रतिबन्ध लगाउन नेपाललाई आग्रह गरिएको छ ।’ तर नेपालको सम्बन्धित निकायले भने पर्वतारोहीलाई अनुमति दिने काम नियमकानुनअनुरुप चलिरहेको उल्लेख गरेको छ ।
‘यहाँ हाम्रो नीतिमा अहिलेसम्म कुनै फेरबदल भएको छैन’, पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीलाई उल्लेख गर्दै बीबीसीले भनेको छ । अधिकारीले नेपाली पहाड पर्वतहरु विश्व सम्पत्ति भएकाले कुनै पनि देशका इच्छुक व्यक्तिले शान्तिका खातिर आरोहण गर्न पाउने उल्लेख गरेका छन् । त्यसमा नेपाली कानुनी व्यवस्थाअनुरुप हुने अधिकारीले उल्लेख गरेका छन् ।
युक्रेनी दूतावासले मार्च २१ मा नेपाली पक्षलाई उक्त आग्रह गरेको भने पनि नेपाली पक्षले भने यसबारे कुनै सञ्चारसम्पर्क नभएको बताएको छ । हालसम्म एक जना रुसी नागरिकले अन्नपूर्ण हिमाल र अन्य आठ जनाले अन्य हिमाल आरोहणको अनुमति पाएका छन् ।