काठमाडौं । शनिबारदेखि हुने तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)ले बिहीबार पत्रकार सम्मेलन गरी एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।यसअघि दुई संस्करण सफलताका साथ सम्पन्न भइसकेको हिमालयन हाइड्रो एक्स्पोको तेस्रो संस्करण शनिबारदेखि सोमबारसम्म तीन दिन चल्नेछ ।
सुरुमा शुक्रबारदेखि आइतबारसम्म आयोजना हुने भनिए पनि शुक्रबार घोडेजात्रा परेको र कार्यक्रमस्थल भृकुटीमण्डपवरपर सुरक्षा निकायले यातायातका साधन प्रवेशमा नियन्त्रण तथा व्यस्थापन गर्ने देखिएकाले निर्धारित समयतालिका परिवर्तन गरी एक दिनपछि एक्स्पो आयोजना गरिएको इपानले जनाएको छ । इपान र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा हुनलागेको यस एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार दिउँसो उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै एक्स्पोको पहिलो दिन शनिबार बिहान ७ बजे विद्युतीय सवारीसाधनको -यालीको आयोजना गरिएको छ । विद्युत्को आन्तरिक बजारलाई प्रवर्द्धन गर्न विद्युतीय सवारीसाधनको प्रयोगलाई अभियानका रूपमा अघि बढाउन नेपाल सरकारले विशेष नीति तथा कार्यक्रम ल्याउन आवश्यक छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको -याली काठमाडौंस्थित भृकृटीमण्डपबाट सुरु भएर नेपालको पहिलो जलविद्युत् आयोजना फर्पिङसम्म पुगेर पुनः भृकुटीमण्डपमा आएर समापन हुने इपानले जनाएको छ । फर्पिङ
जलविद्युत् आयोजनामा -यालीका सहभागीहरूलाई पर्यटनमन्त्री प्रेम आलेले स्वागत गर्ने कार्यक्रम तय गरिएको छ ।
यस एक्सपोको मुख्य प्रायोजक एनएमबी बैंक लिमिटेड रहेको छ भने आईएफसीलगायतका संघ, संस्थाहरूले प्रायोजन गरेका छन् । एक्स्पोमा नेपालस्थित भारतीय राजदूतावासको समन्वय तथा बेलायती राजदूतावास र क्यानेडियन हाइ कमिसन कन्ट्री पार्टनर रहेका छन् । साथै नेपाल विद्युत् प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन र नेपाल निर्माण व्यवसायी महासंघको एक्स्पोलाई सहयोग रहेको छ ।
नेपालको जलविद्युत्को बजार सिर्जना गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस एक्स्पोले नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपतमा वृद्धि गर्न र विदेशमा निर्यात गर्न बजारीकरणको ठूलो ज्ञान र सूचना प्राप्त हुने अपेक्षा लिइएको छ । एक्स्पो अवधिभर प्रत्येक दिन हाइड्रोपावरसम्बन्धी विषयगत छवटाभन्दा बढी टेक्निकल सेसन तथा अन्तरक्रिया सञ्चालन गरिने कार्यक्रम तय गरिएको इपानले जनाएको छ ।
यस एक्स्पोमा हाइड्रोपावर निर्माता, हाइड्रोपावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक/वित्त कम्पनीहरूलगायत सयभन्दा बढी स्टल बुकिङ भइसकेका छन् । जसमा विदेशी स्टलसमेत रहेका छन् । एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिललगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरूको सहभागिता रहनेछ । यसैगरी हाइड्रोपावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रोपावरसम्बन्धी वस्तु तथा सेवाको नयाँ अवधारणाबारे विद्यार्थीहरू एवं व्यक्तिगत तवरबाट आविष्कार गरेका वस्तु तथा सेवाबीच प्रतिस्पर्धा समेत गराइने छ । त्यस्तै हाइड्रोपावर क्षेत्रमा ड्रोनको आवश्यकता र यसको उपयोगिता के–कसरी हुन्छ र गर्न सकिन्छ भनी ड्रोन भिडियो मेकिङ कम्पिटिसन समेत आयोजना गरिने बताइएको छ ।
यस पटकको एक्स्पोमा ऊर्जासँग सम्बन्धित नयाँ प्रविधिका साथै हाइड्रोपावरमा रोबोटर्सको भूमिका विशेष आकर्षण बन्ने आयोजकको विश्वास छ । विश्वकै पहिलो हाइड्रोपावर रोबोटिक कम्पिटिसन हाइड्रोकन २ दशमलव शून्यमा हाइड्रोपावरमा काम लाग्ने रोबोटहरूका साथै टनेल चेकिङ र इन्स्पेक्सनजस्ता काममा समेत सहायता प्रदान गर्ने रोबोटहरूको प्रतिस्पर्धा एक्स्पोमा हुनेछ । एक्स्पो अवलोकनका लागि आएका इच्छुक अवलोकनकर्तालाई हेलिकोप्टरमार्फत हाइड्रोपावर आयोजनाहरूको भ्रमण गराउने व्यवस्था गरिएको छ ।
जलविद्युत् लगानीकर्ता, उत्पादक, इन्जिनियरलगायत यस क्षेत्रमा चासो दिने सबैका लागि यो एक्स्पो जानकारीको केन्द्र बन्ने र यसले राष्ट्रको ऊर्जा विकासमा टेवा पु-याउने विश्वास गरिएको छ । त्यसैगरी प्रत्येक दिन एक्स्पो अवलोकनकर्ताहरूमध्ये १० जनालाई गोलाप्रथाका माध्यमबाट विद्युतीय चुलो वितरण गरिने आयोजकले जनाएको छ । यस एक्सपोमा ५० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।