बाँके, माघ २९
बाँकेको नेपालगञ्जमा क्यान इन्फोटेक मेला सञ्चालन गरिने भएको छ । क्यान महासंघ बाँके शाखाको आयोजनामा आगामी फागुन २० देखि २४ गतेसम्म मेला सञ्चालन हुनलागेकोे हो । मंगलबार पत्रकार सम्मेलनमार्फत आयोजकले नेपालगञ्जस्थित सिद्धार्थ कटेजमा मेला सञ्चालनको तयारी थालिएको जनाएको हो ।
विश्वमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ–नयाँ प्रविधिबारे जानकारी प्रदान गर्ने उद्देश्यले ‘प्रभु पे क्यान इन्फोटेक २०२० इन एसोसिएसन विथ वोल्र्ड लिंक’ नाम दिइएको उक्त मेलाको आयोजना गरिएको आयोजकले बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै क्यान महासंघ बाँकेका अध्यक्ष रमणी शर्माले क्यान इन्फोटेकको चौथौं संस्करणमा क्यान महासंघका सदस्य संस्थाहरु लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने जानकारी दिए ।
मेलाको मुख्य प्रदर्शनी हलमा ९० वटा प्रदर्शनी स्टल राखिने बताइएको छ । जसअन्तर्गत हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स्, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, बैंक, आई सीटी कलेज, शैक्षिक परामर्श केन्द्र ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स र विभिन्न नयाँ प्रविधिको प्रयोग गरी स्थानिय विद्यार्थीहरुले बनाएका प्रविधियुक्त हाडवेयररसफ्टवेयरसँग सम्बन्धित सामाग्रिहरुका स्टल रहने अध्यक्ष शर्माले बताए । पाँच दिनसम्म सञ्चालन गरिने मेला अवलोकनका लागि सर्वसाधारणहरुलाई ३० रुपैयाँ र विद्यार्थीहरुलाई २० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।