काठमाडौं । लक्ष्मी बैंकका कर्मचारीहरूद्वारा स्थापित गैरनाफमूलक संस्था लक्ष्मी केयर्सले ‘अरेन्जलभ्स ग्रीन’ अभियानअन्तर्गत वार्षिक साइकल -यालीको १२औँ संस्करण चैत्र १९ गते शनिबार काठमाडौंमा आयोजना गरेको छ ।
टुँडीखेलस्थित आर्मी अफिसर्स क्लबबाट दुई सयभन्दा बढी साइकलयात्रीको सहभागितामा सुरु भएको सो -याली १३ किलोमिटरको दूरी पार गर्दै गोकर्ण फरेस्ट रिसोर्टमा गई सम्पन्न भएको थियो । -यालीपश्चात् विभिन्न पेसा तथा व्यवसायमा संलग्न करिब लक्ष्मी केयर्सका एक हजारभन्दा बढी हितैषीको उपस्थितिमा १९७४ एडी ब्यान्डको सांगितिक प्रस्तुतिलगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम लक्ष्मी बैंकको २०औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरिएको थियो ।
लक्ष्मी केयर्सले उज्यालो अभियानअन्तर्गत जनचेतना अभिवृद्वि एवं विभिन्न सांस्कृतिक तथा सार्वजनिक स्थानलाई वातावरणमैत्री प्रविधिबाट उज्यालो बनाउने उद्देश्यका लागि रकम सङ्कलन गर्ने प्रयोजनसहित साइकल -याली कार्यक्रमको आयोजना गर्दै आएको छ । सो अभियानअन्तर्गत यसअघि लक्ष्मी केयर्सले बागमती पुल, पाटन दरबार स्क्वायर, भद्रकाली–सिंहदरबार सडक, बाराको गढिमाई मन्दिर र बनेपाको चण्डेश्वरी मन्दिर परिसरमा सौर्यबत्ती जडान गर्नुका साथै देशभर विभिन्न स्थानमा वृक्षारोपण गरेको छ ।