कोलम्बो । श्रीलंकाको केन्द्रीय बैंकले नयाँ गभर्नर पाउने भएको छ । ७० वर्षयताकै आर्थिक संकट व्यहोरिरहेको श्रीलंकामा राजनीतिक संकट पनि गहिरिँदै गएको छ । यसअघि मन्त्रीहरुले सामूहिक राजीनामा दिएका थिए । त्यसलगत्तै गभर्नर अजित निवार्ड क्याब्रालले पनि राष्ट्रपति गोताबाय राजापाक्षेलाई राजीनामा बुझाएका थिए । त्यसयता नयाँ मन्त्री नियुक्त भइसकेका छन् भने गभर्नरमा बिहीबार पी नन्दलाल वीरासिंघेले शपथ खाँदै छन् । सोमबारदेखि गभर्नर पद रिक्त हुनपुगेको थियो ।
श्रीलंकामा अहिले विशाल प्रदर्शन र जीवनशैली लागत बढिरहेको छ । देशको मुद्रालाई स्थिर राख्न नीतिनिर्माताले प्रयास गरिरहँदा केन्द्रीय बैंकले ब्याजदर बढाउने निर्णय गर्ने मिति सारेको छ । केन्द्रीय बैंकले भने वीरासिंघेबारे आधिकारिक निर्णय सार्वजनिक गरिसकेको छैन । बैंकका प्रवक्ताले राष्ट्रपतिबाट हुने निर्णय कुरिरहेको बताएको बीबीसीले जनाएको छ । वीरासिंघे अहिले अस्ट्रेलियामा रहेको र उनले उक्त पदमा आसीन हुन स्वीकार गरेको बताएका छन् ।