काठमाडौं । वैदेशिक रोजगार कार्यालय काठमाडौंले संस्थागत श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ । कार्यालयप्रमुख रमेश अर्यालले आगामी वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने निर्णय गरिएको बताए ।
कार्यालयले पुनः श्रम स्वीकृति, संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम गर्दै आएको छ । संस्थागत श्रम स्वीकृतिका लागि म्यानपावर व्यवसायी वा उनीहरूका प्रतिनिधि कार्यालयमा आउने गरेकोमा यो व्यवस्थासँगै कार्यालयमा भौतिक उपस्थितिविना नै संस्थागत श्रम स्वीकृतिको व्यवस्था गरिएको हो । कार्यालयले गत माघदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिँदै आएको छ । पुनः श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र हुन थालेसँगै दैनिक एक हजारभन्दा धेरै सेवाग्राहीले कार्यालयमा उपस्थित नभई अनलाइनबाटै सेवा लिँदै आएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहज र सरल तरिकाबाट सेवा प्रदान गर्ने नीतिअनुसार अनलाइन प्रणालीको विकास गरिएको बताए । मन्त्रालयका सचिव एकनारायण अर्यालले श्रम स्वीकृतिलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाई छिटो, छरितो र पारदर्शीरूपमा सेवाप्रवाह गर्न यस्तो व्यवस्था मिलाइएको जानकारी दिए ।
आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट छिटो छरितो रूपमा गुनासोरहित सेवा प्रदान गर्न मन्त्रालयले दिएको निर्देशनअनुसार पुनः श्रम स्वीकृतिसँगै संस्थागत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट गर्न लागिएको कार्यालयप्रमुख अर्यालको भनाइ छ ।