काठमाडौं । विदेशी दक्ष कामदारका लागि नेपाल उपयुक्त गन्तव्य मुलुक बन्दै आएको छ । विशेष गरी सीमा जोडिएका चीन र भारतपछि विकसित मुलुकका दक्ष नागरिकहरु नेपाल आउन रुचि देखाउँछन् । अझै अमेरिकी र युरोपेली मुलुकहरुका दक्ष नागरिकहरु नेपालमा उपभोग्य सामग्री सस्तो भएको भन्दै यहाँ बस्न रुचाउने समेत गरेका छन् ।
नेपालमा आउने विदेशी कामदार अधिकांश दक्ष हुनुमा भने नेपाल सरकारको बाध्यकारी व्यवस्थाले नै हो । दक्ष विदेशी कामदार मात्र नेपाल भित्रिन पाउने कानुनी व्यवस्थाका कारण दक्ष विदेशी कामदार आउने गरेका हुन् । हालसम्म नेपालमा आठ हजार सात सय ७५ जना (७७८० पुरुष/९९५ महिला) विदेशी दक्ष कामदार यहँँ कार्यरत छन् । नयाँ श्रम स्वीकृति लिने र नवीकरण गरेर सो संख्यामा विदेशी कामदार नेपालमा कार्यरत रहेका हुन् ।
त्यस्तै, सबैभन्दा धेरै भने नेपालमा चिनियाँ र बेलायती दक्ष कामदार छन् । छ हजार दुई ७२ जना चिनियाँ र चार सय २४ जना बेलायती दक्ष कामदार यहाँ कार्यरत रहेको श्रम तथा सुरक्षाजन्य विभागले जनाएको छ । त्यसैगरी, अमेरिकी दुई सय ५४ जना, भारत दुई सय पाँच जना, दक्षिण कोरियाली एक सय ८८ जना, जापानी एक सय ३६ जना, अष्ट्रेलियाली ९७ जना, इटलियन ७६ जना, फ्रान्सेली र जर्मनीका क्रमशः ७२ जना, श्रीलंका र फिलिपन्सका ७०/७० जना र स्पेनी ३२ जना दक्ष कामदार यहाँ कार्यरत छन् ।
त्यस्तै एसिया, अमेरिका र युरोपबाट मात्र नभई अविकसित महादेश अफ्रिकाबाट समेत नेपालमा कामका लागि आउने गरेका छन् । विभागका अनुसार नाइजेरिएन ४३ जना, भेनेजुयलाका छ जना, युगान्डाका छ जना, सर्बियाका दुई जना, रुवान्डा र लुथिनियाबाट दुई/दुई जना दक्ष कामदार यहाँ कार्यरत छन् । एसिया, अमेरिका, युरोप र अफ्रिका महादेशका ७० भन्दा बढी मुलुकका दक्ष विदेशी नागरिक नेपाल आउने गरेको विभागको तथ्यांकले देखाउँछ ।
पछिल्लो समय चिनियाँ कामदार नेपालमा बढ्नुको कारण भने यहाँका विभिन्न परियोजनामा चिनियाँ लगानी हुनु हो । यहाँ सञ्चालन भएका चिनियाँ लगानीका परियोजनाहरुमा चिनियाँ लगानीकर्ताहरुले आफ्नो मुलुकबाट कामदार ल्याउने गर्दा चिनियाँ नागरिक धेरै भएको विभागका अधिकारीहरुले बताए । चीनबाहेक विभिन्न मुलुकबाट आएका दक्ष कामदारहरुमा ठूलो संख्यामा विभिन्न प्रकारका इन्जिनियर रहेको र त्यसपछि भने ट्रेडिङ व्यवसाय सञ्चालन गर्ने, शिक्षकशिक्षिका, विमान चालक, चिकित्सकलगायतका व्यक्तिहरु रहेको विभागले बताएको छ ।
अदक्ष र अर्धदक्ष विदेशी कामदारहरु भने नेपाल प्रवेशमा रोक लगाइएको छ जसले गर्दा दक्ष व्यक्तिहरु मात्र आउने गरेका छन् । अर्कोतर्फ मुलुकमा सञ्चालन भएका आयोजनाहरुमा मुलुकभित्र दक्ष व्यक्ति अभाव हुँदा विदेशबाट ल्याउनुपर्ने बाध्यता छ । विदेशी नागरिकहरुको श्रम इजाजत व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७५ बमोजिम विदेशी नागरिकले श्रम स्वीकृति लिने गरेका छन् ।